सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज पनि विश्वासको मत पाउने सम्भावना न्यून
धनगढी : गत चैत ६ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत लिनै सकस भएको छ। उनले शुक्रबारका लागि विश्वासको मत लिने भन्दै संसद आह्वान भएको छ।
कांग्रेसले शुक्रबारको संसद चल्न नदिने धम्की दिइरहेका बेला सत्ता गठबन्धनकै नेकपा एमाले पनि आन्तरिक तयारी नभएको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताएपछि मुख्यमन्त्री सोडारी सकसमा परेका हुन्। केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सारेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफैं मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको हो।
आफूलाई मुख्यमन्त्री नबनाएको भन्दै उनी केन्द्रको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन लागेका थिए। उनको कदमले केन्द्रको गठबन्धन हल्लिएको थियो। तर केन्द्रीय नेताहरूबीच समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि उनले कांग्रेससँगको समर्थन फिर्ता लिए।
उनी वैशाख ६ गते एमाले, माओवादी, उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले उनैलाई विश्वासको मत लिन सकस भएको छ। ‘हामीले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थियौं। तर त्यहाँ संविधानको उल्लंघन भयो। अब हामी सदन चल्न दिदैनौं’, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने।
सोडारीले विश्वासको मत लिन संसद बोलाइदिन पत्र पठाएपछि सभामुखले शुक्रबार ५ बजेका लागि संसद बोलाएका छन्। तर शुक्रबार कांग्रेसको विरोध मात्रै होइन, सत्ता घटक नेकपा एमालेले पनि विश्वासको मत दिन नसकिने जनाएको छ। एमालेले सरकारमा गए कसको नेतृत्वमा जाने, मन्त्री को पठाउने, बझाङबाट जितेका प्रदेश सभा सदस्यको शपथ भइनसकेका बेला हतारमा विश्वासको मत लिन खोजेको आरोप लगाउँदै शुक्रबार विश्वासको मत दिन नसकिने जनाएको हो।
एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले शुक्रबार विश्वासको मत दिन नसकिने बताए। ‘बझाङमा सत्ता गठबन्धनकै एकजना जित्नुभएको छ। उहाँ किरियामा हुनुहुन्छ। उहाँले शपथ लिएको छैन, अरु तयारी पनि भएको छैन, सरसल्लाह पनि गरिएको छैन, त्यसैले समय धेरै छ, हतार किन गर्नुपर्यो’, रावलले भने।
एमाले र कांग्रेसको अडानपछि शुक्रबार बिहान बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन। कार्य व्यवस्था परामर्श समिति ‘मिनि पार्लियामेन्ट’ पनि हो। ‘दलहरू बीचमा सहमति भएको छैन। आजको सदन स्थगित हुन्छ होला। केही बेरमा सूचना आउँछ’, संसद सचिवालयका एकजना अधिकृतले भने।
सोडारीको नाम मुख्यमन्त्रीमा आउने बित्तिकै एमाले बिच्किएको थियो। एमालेले मुख्यमन्त्रीको पात्र ठीक नभएको अडान राख्दै अन्तिम समयमा मात्र सोडारीलाई समर्थन गरेको थियो। एमालेले त्यतिबेला सरकारमा नजाने तर समर्थन मात्रै गर्ने निर्णय गरिसकेको छ।
सोडारीले दुई हप्ताभन्दा बढी समय हुँदा पनि सरकार विस्तार गर्न सकेका छैनन्। मुख्यमन्त्री बाहेक नागरिक उन्मुक्तिका २ जना मात्रै सरकारमा छन्। माओवादी सरकारमा गएको छैन। एमालेले पनि विश्वासको मतका बारेमा आनाकानी गरेपछि मुख्यमन्त्री सोडारी सकसमा परेका छन्।