चौतारा अस्पतालले सञ्चालन गर्यो फिजियोथेरापी सेवा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पतालले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ।
२०७२ को विनासकारी भूकम्पपश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बीचमा रोकिएको थियो। चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गरेको हो।
फिजियोथेरापी सेवाको उद्घाटन गरी शुक्रबारबाट चौतारा अस्पतालमा सेवा शुभारम्भ गरिएको छ। सेवा प्रदानका लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकका रुपमा केही दिनअघि मात्र नियुक्त गरेको थियो।
फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मँदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विजयकुमार साहले बताए। उनका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका बिरामीहरूलाई फिजियोथेरापी प्रभावकारी हुनेछ।
चौतारा अस्पतालले हाल बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरेको जनाएको छ। ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाइको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ।
विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन्। सेवाको उद्घाटन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख दुर्गा बजगाईले समुदाय स्तरमा रहेको बिमारीहरुलाई अस्पतालसम्म ल्याउने र सेवा दिएपछि घरसम्म पुर्याउनको लागि विविध समस्याहरू आइरहेकोले उक्त समस्या पार लगाउन स्थानीय सरकारको भूमिका रहनुपर्नेमा स्थानीय सरकारको ध्यानाकर्षण गराइकी थिइन्।
चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले प्रदेशकै नमूना अस्पताल बनाउने अभिप्रायका साथ लागिपरेको बताउँदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाए। उनले अब छिट्टै डायलाइसिस सेवा पनि सञ्चालनमा ल्याउन लागिरहेको समेत जानकारी गराए।