जुगल हिमालको सफल आरोहण

जुगल हिमालको सफल आरोहण
सुन्नुहोस्

सिन्धुपाल्चोक : नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा आरोहण सुरु गरिएको जुगल हिमाल– १ को सफल आरोहण भएको छ।

६ हजार ५ सय ९१ मिटर अग्लो जुगल–१ हिमाल सफलताको साथ आरोहण सम्पन्न गरिएको आरोहण दलका नेपाली टोली प्रमुख विश्व कीर्तिमान आरोही दावा याजुम शेर्पालाई उद्धृत गर्दै जुगल पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जनाए। आरोहण दलमा ३ नेपालीसहित ७ कोरियन आरोही सहभागी थिए। आरोहण दलले शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटमा चुचुरोमा पाइला राखेको तामाङले जानकारी दिए।

चैत २६ देखि आरोहण सुरु गरेको आरोहण दल काठमाडौंबाट सिन्धुपाल्चोकको अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे, गुम्बा, तेम्बाथान हुँदै वैशाख ७ गते जुगलको आधार शिविर पुगेको थियो। कोरियाली आरोहण दलको नेतृत्व प्रख्यात आरोही उम हुङ गिलले गरेका थिए।

आरोहण दलले जुगल– १ को सफल आरोहणले सिँगो जुगल गाउँपालिकाको शिर उँचो भएको भन्दै पालिका अध्यक्ष रेशम स्याङ्बोले आरोहीहरूलाई बधाई ज्ञापन गरेका छन्। उनले सो दललाई जुगल– २ को सफल आरोहणका लागि शुभकामना समेत व्यक्त गरेका छन्। जुगल हिमाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि यो आरोहणले थप मद्दत पुग्ने उनको भनाइ छ। 

आरोहण दलले अब ६ हजार ५ सय १८ मिटरको जुगल– २ हिमाल आरोहण गर्नेछ। आरोहण दललाई चैत २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले ढाका टोपी र सयपत्रीको मालासहित नेपाल र दक्षिण कोरियाको राष्ट्रिय झण्डा हस्तान्तरण गरी विदाई गरेका थिए। आरोहीलाई प्रोत्साहन स्वरुप गएको चैत ८ गतेको सरकारको मन्त्रिपरिषद् बैठकले जुगल हिमाल आरोहण गर्ने १० जना आरोहीहरूका लागि सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो।

जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो। जुगल– १ र जुगल– २ दुवै चुचुरामा यसअघि आरोहण नभएको जुगल पर्यटन समितिका अध्यक्ष तामाङले बताए। यस अघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६ हजार १ सय २६ मिटर अग्लो ग्याल्चेन पीक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६ हजार १ सय ५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.