तेजेश्वर चिनाउने तर्कहरू

तेजेश्वर चिनाउने तर्कहरू

तेजेश्वरबाबु ग्वंगः नेपाली साहित्यका चम्किला नक्षत्र हुन्। योग्य शिक्षक, कुशल प्रशासक, सुपरिचित कवि, उत्कृष्ट निबन्धकार र विशिष्ट लेखकका रूपमा प्रसिद्ध ग्वंगः नेपाल, नेपाली र अंग्रेजी भाषामा साधिकार कलम चलाउँछन्। उनका संस्कृतिका आयाम (निबन्ध संग्रह, २०५२), संस्कृतिया पल (नेपालभाषा निबन्ध संग्रह नेपाल संवत् १११०), अवकाशपछिको आकाश (निबन्ध संग्रह, २०६७), चराको गुँड झैं जन्मस्थल मेरो भक्तपुर (कविता संग्रह, २०७३), औकातभरिको सौगात (निबन्ध संग्रह, २०७३), रङ अभिज्ञान (निबन्ध संग्रह, २०७४) प्रकाशित छन्।

तेजेश्वरबाबुको जीवनमा आधारित लेखक जितेन्द्र रसिकले लेखेको युगको तेज (जीवनी, २०८०) पछिल्लो प्रकाशित कृति हो। पुस्तकाकार रूपमा नआएका तर पत्रपत्रिकामा प्रकाशित अनेकौं निबन्ध र लेखले पनि उनको सर्जक/लेखक व्यक्तित्व प्रभासित र प्रसारित भएको देखिन्छ। यस लेखमा जितेन्द्र रसिकद्वारा लिखित ग्वंगको सद्य प्रकाशित जीवनी ‘युगको तेज’ नामक कृतिका बारेमा संक्षिप्त चर्चा गर्न चाहन्छु। ‘युगको तेज’ कृति पढेपछि मेरा मनमा एउटा संशय प्रकट भयो— यो संस्मरण हो कि जीवनी ?

भन्न त यसलाई जीवनी भनिएको छ। यसमा तेजेश्वरबाबुका बाल्यकालदेखि अठासी वर्षसम्मका जीवनमा घटेका प्रमुख घटना र उनले गरेका कार्यको वर्णन गरिएको छ। यसबाट ग्वंगःको जन्म, मातापिता, बाल्यकाल, शिक्षादीक्षा, नोकरी, विवाह, सन्तान, मातापिताको देहावसान, घर, आफूले गरेका महत्त्वपूर्ण कार्य आदिको स्पष्ट जानकारी पाइन्छ। त्यसैले यसलाई जीवनी भनिएको होला।

जीवनी आफैले लेख्दा आत्मजीवनी र अरूले लेखिदिँदा जीवनी हुन्छ। जीवनी बढी वस्तुपरक र तथ्याद्धृत हुने भएकाले मूर्त र ठोस हुन्छ। यो साहित्यिक र असाहित्यिक दुवै तरिकाले लेखिन सक्छ। यो आत्मजीवनी वा जीवनीको रूपमा आउँछ। यसमा तथ्यको मूल्य बढी हुन्छ र यो तथ्यकै रूपमा आउँछ।
संस्मरण तथ्याद्धृत भए पनि बढी सिर्जनात्मक हुने भएकाले त्यो तुलनात्मक रूपमा अमूर्त, कलात्मक र तरल हुन्छ। त्यसैले यसमा रचनात्मकता वा सिर्जनात्मकताको मूल्य बढी हुन्छ। यो कलाका रूपमा आउँछ। यसरी जीवनी र संस्मरण दुवैको ठूलो उपयोगिता छ, तर मूल्य भने भिन्नाभिन्नै देखिन्छ।
जीवनीका रूपमा पढ्दा यसमा तेजेश्वरबाबु ग्वंगःका जीवनका महत्त्वपूर्ण घटना समेटिएका देखिन्छन्— जन्म, बाल्यकाल, शिक्षादीक्षा, नोकरी, विवाह, मातापिताको देहावसान, घर निर्माण, तेजेश्वरबाबुले गरेका महत्त्वपूर्ण कार्य आदि सबै समेटिएका छन्। त्यसैले यो ग्वंगःको जीवनी हो। यो वर्णनात्मक र चित्रात्मक रूपमा प्रकट भएको छ।

कृतिमा ग्वंगःको जीवनको विगत र वर्तमान प्रतिविम्बित छ। यसमा ग्वंगःका जीवनीभित्रै तात्कालिक समाज, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोकको ऐंसेलु खर्क र ग्वंगःले देखेका नेपालका अन्य कतिपय ठाउँको चित्र झल्केको पाइन्छ। यसमा देशको राजनीति, धर्म, संस्कृति, आर्थिक स्थिति, भौतिक विकास, शैक्षिक, प्रशासनिक र साहित्यिक अवस्थाको चित्रण गरिएको छ। यसमा केही प्रबन्धजस्ता रचना पनि छन्। जसमा अन्तर्राष्ट्रिय राजनीति र दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानका दुइटा सहरमा अणुबम प्रहार गरेर गरेको नरसंहारको विरूप तस्बिर देखिन्छ। यी सबै तथ्यका रूपमा प्रकट भएकाले यसलाई कुनै इतिहासकारले प्रमाणका रूपमा प्रस्तुत गर्न सक्छ। त्यसैले यो तथ्याद्धृत जीवनी भएको छ र त्यस दृष्टिले यो मूल्यवान् बनेको छ।

यो संस्मरण हो, किनभने सिर्जनात्मक शैलीमा लेखिएको छ। यसलाई निबन्धजस्तै पारेर प्रस्तुत गरिएकाले ग्वंगःको जीवनी निबन्धका रूपमा प्रकट भएको छ। प्रायः सबै शीर्षक दुइटा पारिएको छ। यसबाट पाठकमा पढ्ने जिज्ञासा बढ्छ। यसमा आफ्ना कुराप्रति पाठकलाई सहमत गराउने ग्वंगीय आग्रह छ। विषयको प्रस्तुति रोचक र नवीन भएको छ। यस्तो नवीनताले यो झन् पठनीय भएको छ। कतिपय निबन्ध कथाजस्ता पनि लाग्छन्। किनभने प्रत्येक शीर्षकभित्र कथावस्तु छ। पात्र छन्। तात्कालिक परिवेश छ। आख्यानात्मक शैलीशिल्प छ। कतिपय निबन्ध फुटकर कविताजस्ता भएका छन्। ती छोटा, मीठा र काव्यात्मक छन्। कतिपय ठाउँमा गद्य र मुक्त लयको प्रयोग गरेर विषय प्रस्तुत गरिएकाले यो कृति चम्पुकाव्यजस्तो पनि भएको छ। 

यसमा ग्वंगःले आफ्नो सम्झना आफैंले गरेको वा आफ्नो उत्खनन आफैंले गरेकोजस्तो देखिन्छ। ग्वंगः नेपालका मूर्तअमूर्त दुवै संस्कृति हुन्। नेपालका ठूला सांस्कृतिक सम्पदा हुन्। यसमा ती दुवै खाले सम्पदाको उत्खनन भएको छ। विद्यार्थी, शिक्षक, कर्मचारी, प्रशिक्षक, सर्जक, पुत्र, पति, पिता र अन्ततः देशको नागरिकको भूमिकामा ग्वंगः अब्बल देखिएका छन्। उनीसँग विलक्षण प्रतिभा र सामथ्र्य देखिन्छ। निस्वार्थता, सत्यवादिता, स्पष्टता, कार्यकुशलता, कर्मशीलता, समाजसेवा, राष्ट्रसेवा, भाषा, साहित्य र संस्कृतिप्रेम आदि ग्वंगःका असली परिचय वा वैशिष्ट्य हुन्। लाग्छ– एउटै व्यक्तिमा पाइने यिनै दुर्लभ विशेषताको मोहनीले प्रजावत्सल राजारानी वीरेन्द्र र ऐश्वर्य उनका निवासमा आएका हुन सक्छन्। वास्तवमा सबै साहित्य अन्ततः सर्जककै आत्माको अभिव्यक्ति हुन्छ। त्यसैले यो कृति रसिकमार्फत लेखिएको तेजेश्वरको सांस्कृतिक आत्माको सच्चा अभिव्यक्ति हो।

यसमा यात्रा संस्मरण छन्। देशविदेश घुमेका, नेपालका विभिन्न जिल्ला र विदेश–अमेरिका, जापान आदि ठाउँ घुमेका संस्मरण छन्। यसमा ग्वंगःका जागिरे जीवनका संस्मरण छन्। शिक्षण पेसामा रहँदाका संस्मरण छन्। विद्यार्थी जीवनका संस्मरण छन्। साहित्यिक गोष्ठीहरूको संस्करण छ। नेपालका मूर्धन्य साहित्यकारहरूको व्यक्तित्व संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ। यी रेखाचित्रजस्ता भएका छन्। यी संस्मरणले केदारमान व्यथित, सत्यमोहन जोशी, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, गोविन्दबहादुर मल्ल, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, लैनसिंह वाङ्देल, धुस्वाँ सायमी, रमेश विकल, कमलमणि दीक्षित आदि साहित्यकारको ग्वंगःको हृदयमा लेखिएको चित्र कोरेका छन्।

त्यस्तै, पढ्दाका, नोकरी गर्दाका, भ्रमण गर्दाका अनेकौं सहकर्मी साथीहरूको प्रेरक व्यक्तित्व एवं राजा वीरेन्द्र र रानी ऐश्वर्यको प्रजावत्सल व्यक्तित्वको छवि पनि कृतिले कोरेको छ। यसर्थ यो यात्रा संस्मरणजस्तो भएको छ। कलात्मक वा सिर्जनात्मक मूल्यका दृष्टिले ‘युगको तेज’ कृति विशिष्ट देखिन्छ। नेपाली निबन्ध क्षेत्रमा चार, पाँच जनाको नाम लिँदा सजिलै पर्ने, सांस्कृतिक निबन्धका शिखर व्यक्ति, छोटा वाक्य प्रयोग गर्न, शब्द खेलाएर विशिष्ट र गम्भीर अर्थ निकाल्न खप्पिस, मौलिक वा ग्वंगीय शैलीशिल्पले अन्यभन्दा नितान्त भिन्न, विशिष्ट प्रतिभाका धनी ग्वंगःको जीवनी वा संस्मरण प्रकाशित हुनु अत्यन्त महत्त्वपूर्ण र सराह्रनीय कार्य हो।

नेपाली कला र संस्कृतिले सम्पन्न, नेपाली सांस्कृतिक सम्पदाको अनन्य प्रतिमान, विश्वसम्पदा सूचीमा सूचीकृत नेपालको गौरव भक्तपुरजस्तो प्राचीन सहरमा जन्मन र हुर्कन पाउनु, भक्तपुरको संग्रहालयमा जागिरे भएर त्यहाँका ऐतिहासिक, सांस्कृतिक सम्पदासँग परिचित हुने सुअवसर प्राप्त गर्नु, विदेशीले नेपालको सांस्कृतिक सम्पदाभन्दा अन्य बाहिरी कुरालाई महत्त्व दिएको देखेर नेपाली कला र संस्कृतिप्रति गहिरो रुचि जाग्नु र त्यस्ता सांस्कृतिक सम्पदाको सुदीर्घ परम्परा, महत्त्व, कलात्मक, धार्मिक, सांस्कृति मूल्य आदिको सिर्जनात्मक खोज र प्रकाशनमा आजीवन समर्पित हुनुजस्ता कृत्यले आजको तेजेश्वरबाबु ग्वंगः निर्मित भएको हामी पाउँछौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.