ताली र गाली नै जीवनका अनमोल सम्पत्ति हुन्
भरत गुरागाईं उपन्यासलाई नाटकमा रूपान्तरण गरेपछि आफूलाई ‘बर्बरिक’ भन्न रुचाउने साहित्यकार हुन्। पूर्वी नेपालको मोरङ जिल्ला ग्रामथान गाउँपालिकाको झोराहाटका उनी झोराहाट नाट्य समूह खोलेर नाटक कर्ममा आफूलाई होम्ने कलाकार पनि हुन्। साहित्यकार पनि हुन् उनी। उनै अनेक व्यत्तित्व र मनका पनि धनी बर्बरिकसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
आफूलाई बर्बरिक लेख्नुहुन्छ, किन ?
अलि लामो नालीबेली छ। महाभारतमा भीमसेनको नाति घटोत्कचको छोराको नाम बर्बरिक थियो। उनलाई दलित तथा असभ्य भन्दै महाभारतको युद्धबाट षड्यन्त्रपूर्ण रूपमा विमुख गराइएको थियो। यो विषयमा बडो चाखलाग्दो कथा छ। अहिले त्यता नजाऊँ। नेपालको सन्दर्भमा आख्यानकार दाजु प्रदीप नेपालले बर्बरिक नामको उपन्यास लेख्नु भयो, जसमा बर्बरिकको रूपमा नेपालको राजनीतिमा २०४४ देखि २०५० को दासढुंगा दुर्घटनासम्म मदन भण्डारीलाई चित्रण गर्नुभएको छ। मैले उक्त उपन्यासलाई नाटकको रूप दिएको थिएँ र झोराहाट नाट्य समूहले मुलुकका ६५ स्थानमा मञ्चन गरेको उक्त नाटकमा मैले बर्बरिकको भूमिका निर्वाह गरेको थिएँ। नाटक हेर्ने इष्टमित्रहरूले मलाई बर्बरिक भनेर बोलाउन थालेपछि मैले पनि आफूलाई बर्बरिक भन्न थालें।
तपाईं नाटक पनि लेख्नुहुँदो रहेछ। कतिवटा लेख्नुभयो ?
हो। म नाटक लेख्ने गर्छु। हालसम्म रेडियो नाटक, सडक नाटक, कचहरी नाटक र मञ्च नाटक गरी ५५ वटा नाटक लेखेको छु।
के ती सबै नाटक मञ्चन भएका छन् ?
अवश्य।
नाट्य जीवनमा कहिलेदेखि हुनुहुन्छ ?
विगत ४३, ४४ वर्षदेखि यो क्षेत्रमा क्रियाशील छु। कहिले नाटक लेख्छु, कहिले अभिनय गर्छु, कहिले निर्देशन गर्छु त कहिले कार्यक्रम संयोजन गर्छु। मेरो जीवनमा कविता यात्राको समय पनि यही हो।
तपाईंका नाटकले कस्ता कुरा बोकेका हुन्छन् ?
प्रायः पारिवारिक/सामाजिक नाटक रुचाउँछु। समाजको चित्र बोकेको नाटक प्रभावकारी र आवश्यक हुन्छ भन्ने निष्कर्ष हो। राजनीतिक र अन्य चेतनामूलक नाटक पनि लेख्ने र खेल्ने गर्छु।
यो चार दशक लामो नाट्य जीवनमा कतिपल्ट अभिनयमा उत्रनुभयो ?
खै गनेको त छुइनँ, त्यस्तै ६÷७ हजार पटक मञ्च टेकें होला।
कविताको कुरो उठेको थियो। कविता किन लेख्नुहुन्छ ?
अहँ थाहा छैन म किन कविता लेख्छु। मन, मुटु र मस्तिष्कको सम्मिलन र संयोजन एक अनौठो र दुर्लभ कुरा हो जस्तो लाग्छ। यी तीनवटा कुरा मिलेपछि एउटा कविताको जन्म हुन्छ। लेख्दै गएपछि अलि पछि मात्र थाहा पाएँ– कविता लेख्नु ठट्टा होइन रहेछ।
प्रश्नको उत्तर त आएन नि !
भन्छु। यथास्थितिका विरुद्ध रूपान्तरणका लागि कविता लेख्छु म। अँध्यारोमा भड्किरहेका मान्छेहरूले, जीवनको महŒवाबोध गर्न नसकेकाहरूले, समस्याग्रस्त जिन्दगी बाँच्न विवशहरूले, ठगिएका, हेपिएकाहरूले मेरो कविता पढे वा सुनेपछि ऊर्जा प्राप्त गर्दै आफू लडेको ठाउँबाट उठ्ने प्रयास गरुन् भन्ने लाग्छ। उसो त म बालबालिकाको संवेदना र उथलपुथल मानव मनोविज्ञानलाई कवितामा सम्बोधन गर्न मन पराउँछु।
एउटा कविता कतिबेला पूर्ण हुन्छ बर्बरिकजी ?
अहो ! यति जटिल प्रश्नको जवाफ दिने हैसियत मसँग कहाँ छ र ! अनेकौं तरिकाले लेखिएको कविता लक्षित व्यक्ति र समूहसम्म पु¥याएर त्यसको प्रभाव आत्मसात् नगरुन्जेल कविता पूर्ण हुँदैन कि भन्ने ठान्छु।
- नाटक लेख्ने गर्छु। हालसम्म रेडियो नाटक, सडक नाटक, कचहरी नाटक र मञ्च नाटक गरी ५५ वटा नाटक लेखेको छु।
- ४४ वर्षदेखि यो क्षेत्रमा क्रियाशील छु। कहिले नाटक लेख्छु, कहिले अभिनय गर्छु, कहिले निर्देशन गर्छु त कहिले कार्यक्रम संयोजन गर्छु।
- म नहुँदो परिवारको मान्छे हुँ अर्थात् गरिब। अभाव, अप्ठ्यारा, गरिबी, अपमान र परिचयहीनतालाई नजिकबाट देखेको र भोगेको छु।
यो ‘अनेकौं तरिका’ भनेको चाहिँ के हो ?
हजुर ! हामीले कविता लेखिसकेपछि पुस्तकको रूपमा, पत्रपत्रिकाको माध्यमबाट, गोष्ठीमार्फत, सामाजिक सञ्जालबाट वा लक्षित व्यक्ति वा समूहलाई प्रत्यक्ष भेटेर आफ्नो कविता पु¥याउन सक्छौं।
प्रत्यक्ष भेट्ने भनेको चाहिँ के हो नि ? सम्भव छ र ?
बिल्कुल सम्भव छ। समय र त्यागको भावना हुनुपर्छ। म यस्तै उत्प्रेरणा अभियानमा नेपालका १ सय १० वटा स्कुल÷कलेज पुगिसकेको छु। डेढदेखि दुई घण्टा समय मागेर म ती प्रतिष्ठानहरूमा विद्यार्थी र शिक्षक साथीहरूसँग कुरा गर्ने गर्छु। म आमा समूह, बचत समूह, कीर्तन समूहलगायत स्थानमा पनि जाने गर्छु। यो यात्रा निरन्तर र निःशुल्क छ।
निःशुल्क ? कसरी सम्भव छ ?
हो, निःशुल्क। गाह्रो त छ, तर असम्भव छैन। जहाँ मेरो आवश्यकता महसुस गरिन्छ, त्यहीँ जान्छु। कुरा बुझेका ज्ञानीहरूले पाल्नुहुन्छ हामी जस्ता फकिरलाई। लाग्छ– हाम्रा नानीहरूले पढ्नुपर्ने धेरै कुरा छन् जो उनीहरूको पुस्तकमा लेखिएको छैन– हाम्रो समाज र संसारको गति। नलेखिएको त्यो विशाल र महŒवपूर्ण पुस्तक पढ्न उनीहरूलाई घच्घच्याउँछु।
के काम गर्नुहुन्छ ?
भनें नि भाषा, साहित्य, कला र संस्कृति मेरो कर्म क्षेत्र हो। यो मेरो अन्तिम बाटो पनि हो। सरकारी शिक्षक भएर २६ वर्ष काम गरें। जागिर खाने उमेर अरू १२÷१३ वर्ष त बाँकी नै थियो। राजीनामा दिएर सडकमा आएँ।
तपाईं हिँडेको बाटो पूर्ण व्यावसायिक होइन। जागिर छोडेर बाहिर आएकोमा पश्चात्ताप छैन ?
केको पश्चात्ताप हुनु ! खुब खुसी पो छु। अहिले मैले गरिरहेको कर्म कुनै दिन सम्मानसाथ व्यावसायिक हुन्छ र हुनुपर्छ भन्ने आवाज मुखर गरिरहन्छु।
के तपाईंका सिर्जना पुस्तकको रूपमा प्रकाशन भएका छन् ?
हजुर, केही सिर्जना पुस्तकको रूपमा आएका छन्। ‘पर्खाल’, ‘पासवर्ड’, ‘घरभित्रको अर्को घर’, ‘देश हराएको छ’जस्ता नाटकहरू र ‘रात र युद्ध’, ‘खोज्दै जीवन’, ‘बालबोली’ र ‘मृत्युको आँधी’जस्ता कविता संग्रह प्रकाशन भएका छन्; उसैगरी ‘ढुंगाको मूर्ति’ बाल कथा संग्रह प्रकाशन भएको छ। साथै ‘बर्बरिकका कविताहरू’ कविता संग्रहको रूपमा र ‘सत्ता’ उपन्यासको रूपमा प्रकाशन हुन प्रेसमा बसेका छन्।
राजनीतिप्रति तपाईंको टिप्पणी के हो ?
हेर्नुस्, यो प्रश्न नसोध्नु भएको भए पनि हुन्थ्यो। अन्ततोगत्वा देश चलाउने राजनीतिले नै हो, स्वीकार गर्नैपर्छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने स्वप्नशील युवाको लाससहितको रातो बाकस र दूरदराज गाउँमा पोल्टाभरि पीडैपीडायुक्त घाउ बोकेर मर्दैमर्दै बाँचेकी आमालाई देख्दा राजनीतिप्रति असाध्य घृणा जागेर आउँछ।
साहित्य र राजनीतिप्रतिको दृष्टिकोण के हो ?
साहित्यलाई राजनीतिक प्रभावबाट जोगाउनुपर्छ भन्ने मान्यता राख्दिनँ। त्यस्तो मान्यता राख्नु भनेको यथास्थितिलाई पृष्ठपोषण गर्नु हो। सत्य उद्बोध गर्ने रचनात्मक आलोचक तथा प्रतिपक्षीको रूपमा साहित्यले आफूलाई उभ्याउनुपर्छ। सत्ताबाट भएका जनउपयोगी कामको प्रशंसा गर्दा केही बिग्रिँदैन। यसको अर्थ झण्डा बोकेर जिन्दावाद मुर्दावाद भन्नुपर्छ भन्ने होइन।
तपाईंसम्बद्ध झोराहाट नाट्य समूहले के काम गर्छ ?
हामी बेलाबेलामा नाटकको उत्पादनमूलक कार्यशाला गर्छौं, जसले नाट्य जनशक्ति तयार गर्छ र एउटा अर्को नयाँ नाटक जन्माउँछ। यसरी तयार भएको नाटक हामी नाटकघरमा गर्छौं र अन्य स्थानमा पनि मञ्चन गर्छौं। ‘झोराहाटमा साहित्य’ नामको मासिक काव्य गोष्ठी गर्छौं। विद्यालयहरूमा नाटकको प्रशिक्षण गर्छौं। विभिन्न संघसंस्थासँग समन्वय गरेर विभिन्न सिर्जनशील कामहरू गर्छौं।
सरकारी जागिर छोडेर नाटक र साहित्यको क्षेत्रमा लाग्नुभो। हालसम्म के कस्ता मान, पदवी र पुरस्कार पाउनुभएको छ ?
बेलाबेला संघसंस्था र साथीहरूले सम्झिनुभएको सन्दर्भलाई सम्मान गर्छु। खासगरी सिर्जनाभन्दा पनि व्यक्ति र गुटको भलाइका लागि प्रायोजन गरिने यी अनेकका पदवी र पुरस्कारहरू मेरो विषय नै होइन। मेरा श्रोता, दर्शक र शुभेच्छुकहरूबाट सघन रूपमा प्राप्त हुँदै आएका ताली, गाली र शुभेच्छाहरूलाई जीवनको अनमोल सम्पत्ति मानेको छु।
ज्यादै चलायमान देखिनुहुन्छ, के गर्दै हुनुहुन्छ ?
हो, म अलि बढी नै हिँड्ने गर्छु। साहित्यिक यात्रामा छु। पछिल्ला दिनमा भारतका आसाम, सिक्किम र सिलगढी पुगें। उसैगरी नेपालका सिन्धुली, रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, काठमाडौं, नुवाकोट पुगेको छु।
कोशी प्रदेशका चौधै जिल्ला टेकेको छु। भर्खरै पाँचथरको विकट गाउँ चिलिङ्दिन पुगेर आएको हुँ। अब छिट्टै बुटबल, भैरहवा हुँदै कैलाली पुग्ने कार्यक्रम छ। खासमा मुलुकका सबै जिल्लासम्म पुगेर ती ती ठाउँबाट केही सिक्न चाहन्छु।
कवि ? कलाकार ? प्रशिक्षक ? लेखक ? को हो तपाईं ?
यो जवाफ तपाईंले नै दिनुपर्छ। तपाईंलाई जे लाग्छ त्यही हुँ म। मेरो विचारमा आम मान्छे हुँ, त्यो पनि भुइँमान्छे।
लौ, किन भुइँमान्छे हुँ भन्नुहुन्छ ?
म नहुँदो परिवारको मान्छे हुँ अर्थात् गरिब। अभाव, अप्ठ्यारा, गरिबी, अपमान र परिचयहीनतालाई नजिकबाट देखेको र भोगेको छु। सम्पन्न परिवारको सदस्य हुन्थें भने ठूलो मान्छे हुने थिएँ।
ग्लानि हो यो ?
ग्लानि होइन, कटाक्ष हो– हाम्रो समाज र समाजको संरचनाप्रति, समयलाई आफ्नो कब्जामा राख्न खोज्ने प्रवृत्तिप्रति। आदर्श र समर्पणका कुरा छोडिदिऊँ, सम्पत्तिले मान्छेलाई महान् बनाइदिने समय हो यो।
मृत्युदेखि डर लाग्दैन ?
मृत्यु अवश्यम्भावी छ त किन डराउने ? आमाको गर्भदेखि नै जिन्दगी फाउमा चलिरहेको छ। जतिन्जेल बाँचिन्छ, राम्रो काम गर्ने हो।
उसो भए जीवनको उत्कर्ष के हो ?
कहीँ पुगेर पनि फर्किनै पर्छ। जहाँसम्म पुगियो, हरेक मान्छेको लागि त्यो नै उत्कर्ष हो। उत्कर्षको कुनै सूत्र हुँदैन।