सद्‍भावनाको सुगन्ध ‘घुरको धुवाँ’

सद्‍भावनाको सुगन्ध ‘घुरको धुवाँ’

विविधताले सुशोभित नेपाली साहित्य आँगनमा वरिष्ठ पत्रकार एवम् साहित्यकार राजेश खनालले नवीनतमकृति 'घुरको धुवाँ' लिएर आएका छन्। संस्मरणात्मक निबन्धलहरीमा छुट्टाछुट्टै शीर्षकका अठार वटा निबन्धहरू समाविष्ट छन्। यसमा आजभन्दा ४० वर्ष अगाडिको मधेसको चित्र सजीव भएर आएको छ। राजेश खनालले बिताएका बाल्यकाल र यौवनकालको भूगोल सिराहाको भलुवाहीदेखि जनकपुर, जयनगर र महोत्तरीको भरतपुरसम्म फिँजारिएको छ।

बीपी राजमार्ग नखुल्दै काठमाडौंदेखि नारायणघाट हुँदै जनकपुर आउँदा-जाँदा रात्रिबसको यात्रामा होटलको खाना, हार्दिकता र सेवामा छुटेको संस्कृति पनि साथ साथै सम्झिएका छन् स्रष्टाले। मधेसको आँगनमा, विषयवस्तुको विवधतामा बुनिएका संस्मरणहरू हरेक तराई बासीका लागि चिरस्मरणीय छन्। मधेस र मिथिलाको महक बोकेका संस्मरणहरूमामानवीय संवेदनाको सारङ्गी रेटिएको छ। जीवन जिउने कलाले सबैतिर एकताको सङ्गीत फुकेको छ। भिन्न-भिन्न संस्कृति, भाषा, साहित्य, कला, रहनसहनमा सहअस्तित्वको डोरीनिकै बलियो गरी संस्कारले त्यहीबेला थाहैनपाइ बाटेको रहेछ। त्यो समयको मधेसी र पहाडी समाजको संस्कृति, सम्बन्ध र परम्परामा सहसम्बन्धको यथार्थता देखिन्छ। स्वयं मधेस मधेसबासीका लागिपनियो नौलो प्रतिविम्बित हुन्छ। 

स्मृतिको स्फटिक सरोवरमा मधेसको छाया जस्ताको त्यस्तै झुल्किएको छ। विलुप्त हुनै लागेको मधेसको प्रतिछाया देखिन्छ, नेपाली भएर हाँसिरहेका भिन्न भिन्न रङ्का अनुहारहरू यहाँ आएका छन्। सहअस्तित्वको बाँसुरीबाट निस्किएको मिठो धुनले संवेदनाको जीवन्त सुर आलापेको छ। एकताको स्वर सद्भाव र संस्कृतिमा गुञ्जित छ। सहसम्मान, सहकार्य र सद्भावले गाँसेको छ एकअर्काको भाषा र संस्कृतिलाई। एउटै फूलबारीमा भेटिन्छन् सयौँ थुङ्गा फूलहरूको एउटै माला जपेर बसेका शान्तिप्रिय नेपालीहरू देखिन्छन्। अखण्ड नेपालको फूलबारीमा पृथक फूलहरूको सामूहिक सुगन्धकृतिभित्र कति मज्जाले फैलिएको छ। 

त्योबेला तराई बासीहरू मात्र भाइभाइ भएर बसेको बडो संगठित समाज छ। त्यो समाजमा नेपालीहरूको मनमा वैमनस्यको कुनै गन्ध छैन, हरेक नेपालीको ओठमा हार्दिकताको हँसिलो मुस्कान छ। जातजाति, भाषाभाषीहरूको साङ्गठ निकसमाजको स्वीकार्यता नै कृतिको सौन्दर्य हो। राजेश खनाल वर्तमान समयमा विलुप्त भैसकेको भूगोल खोज्छन्। स्मृतिमा बाँचेको संसार दृश्य अब छैन तर पनि उनी चाहन्छ समाजमा पुनः स्थापित होस् त्यो भाइचार र सहअस्तित्वको सभ्यता। स्रष्टाले विगतको त्यो सौन्दर्य निबन्धमा लेखेका छन्। कतै भेटाउँछन् कतै भेटाउन सक्दैनन् र अतीतबाट झिक्न थाल्छन् आफ्ना स्वर्गीय पलहरू। त्यही मनोरम सरोवरमा पाठकहरूलाई पनि डुबुल्की मार्न विवश पार्छन्। मधेसको सुगन्धमा रङ्मगिँदै पाठक पनि घुरको घुवाँ ताप्न थाल्छन्। प्रकृतिको मिसावटरहीत सुवास बोकेर जब घुरको धुवाँ फैलिन्छ तब त्यो धुवाँ मधेसमा मात्र सीमित हुँदैन, सीमाविहीन भूगोल, भाषा, संस्कृति र सम्बन्धहरू भन्दा माथि पुगेर फैलिन्छ घुरको घुवाँ।  

राजेश खनालका निबन्धमा आख्यानको जादु छ। निबन्ध प्रस्तुत गर्ने शैली बडो विमुग्धकारी छ। निबन्धहरू पढ्दै गर्दा मधेसमा छायाङ्कन गरिएको कुनै उत्कृष्ट चलचित्र हेर्दै छु भन्ने भान हुन्छ। आञ्चलिकता नै घुरको धुवाँको विशेषता हो। तराईको भान्साबाट निस्किएको खाना र परिकारको सुगन्धले पाठकको पनि जिब्रो रसाउँछ। कतै चूडा मुरही, कचरी, प्याजीको सुगन्ध फैलिन्छ त कतै रामलीलाको मञ्च तयार हुन्छ। भलुवाहीदेखि महोत्तरीसम्म दशैँमा मञ्चन गरिने नाटकको सिहर्सल देखिन्छ त कतै  डाक्टर अन्जनी कुमार शर्माको समाज सेवामा टुप्लुक्क पुगिन्छ। 

सुन्दरमणि मामाले हार्मोनियममा नारायण गोपालको गीत फिट्दै’ सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा ... मेरा सुखहरू अरूका.. . ।‘ सुन्न सकिन्छ। भाषिक विविधताबोकेको समाजमा नारायण गोपालको गीतमा सम्पूर्ण समुदाय झुम्दै गरेको देख्दा मलाई यस्तो लाग्यो भाषालाई जति फैल्यायो उति फैलिँदो रहेछ। खोई त यहाँ भाषासम्बन्धी सङ्कुचित धारणा? नेपाली भाषी बकाइदा मैथली भाषा बोल्छन्। मैथली भाषी निःसंकोच नेपाली भाषा बोल्छन्। एकले अर्काको संस्कृति मनाउँछन्। अरूको सभ्यतामा शिर झुकाउँछन्। एक भाषीले अर्को भाषीप्रति देखाएको हार्दिकता यही समाजमा देखिन्छ।

सीताले बिँडी खाएको प्रसङ्ग यहाँ बडो रमाइलो किसिमले आएको छ। त्यो समयमा महिलाहरूले नाटक नखेल्ने सभ्यता झल्किन्छ। नाटक खेल्दा पुरुषहरू नै नारीको भूमिकामा अभिनय गर्थे। कम्लु मामाले मञ्च पछाडि जबसीता पात्रले बिँडी पिउँदै गरेको देख्छन् तब ती युवा तीकछक्क पर्छन्। एउटा आदर्श स्थापित गरिसकेका पात्रहरूसँग समाजको ठूलो आश हुन्छ। 

रङ्गमञ्चमा अभिनय गरेको एउटा पात्रबाट त युवाले नैतिकताको आश गर्दो रहेछ। हामीले आदर्श ठानेका पात्रहरूको चरित्र पनि आदर्श हुनपर्छ भन्ने सोच त साना बालबालिकाहरूमा पनि त हुँदो रहेछ। तर, आज समाजको रङ्गमञ्चमा अभिनय गरिरहेका आदर्श पात्रहरू खुलेआम अराजक, अभद्र र अनैतिक भएर हिँड्दा पनि हामी चेतनशील प्राणी प्रश्न गर्दैनौँ, बडो दुःखदायी समय छ। समाजमा हिँडिरहेका आदर्श पात्रहरूको दुश्चरित्रप्रति साँच्चै चनाखो हुनेबेला त आएको छ। कम्लुमामाको प्रश्नमा हास्यरसभन्दा बढी त मैले गम्भीरताको स्वर सुनेँ।

जीवन जिउने कलाले शृङ्गारिएको छ घुरको धुवाँ। प्रविधिको आँगनमा घस्रिएका आजका सन्ततिहरूलाई बाल्यकालको जीवन्त सौन्दर्य, माटोको सुगन्ध र प्रकृतिको काखमा घोलिएको हुन्छ भन्ने सन्देश दिन सफल छ घुरको धुवाँ। जीवनको यथार्थ, संघर्ष, चुनौती, जिम्मेवारी, अनुशासन, आय आर्जन, पेशा, कृषि र अन्नको सम्मानकसरी गर्नुपर्छ भन्ने महाज्ञान संस्कृतिको माध्यमबाट थाहै नपाई बच्चामा हस्तान्तरण भएको रहेछ। मेहनत के हो? अन्नको सम्मान कसरी गर्नुपर्छ? एक एक दान किसानको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा धान काटेर खलामा लगिसकेपछि एउटा एउटा धानका बाला टिप्ने संस्कृति कति अर्थपूर्ण छ। राजेश खनाल आफ्नो स्मृतिविम्बमा अर्थशास्त्रको जीवन्त कक्षा यसरी सम्झन्छन्, ‘ काट्न बाँकी रहेका धानका बाला भए पनि तानूँ। मामाले देख्नु हुन्न क्यारे! जनहरूले ‘ रजेसबा धान लुछै है’ भनेर चुक्ली लगाउने छैनन् होला। भान्जा खलक भएकाले तिनले पनि ढील दिन्थे।‘ ( पृ. १३६ )यो प्रसङ्ग पढ्दा मैले पनि मेरो बाल्यकाल बारम्बार सम्झिएँ। खलाभरि धानका कुन्यु हुँदा पनि एक एक बाला टिप्नुपर्छ भन्दै हामी पनि लोड्हा लोढ्थ्यौं। 

त्यो जीवन्त पाठको असर आज पनि मैले भुलेकी छैन। जब बुझ्ने भएँ ती स्मृतिहरू आँखामा आएर मलाई सचेत गराउँछन्। म एक सिता अन्न फाल्न सक्दिनँ। मेरी आमा चार सय मुरी धान ढिकुटीमा थन्क्याएर पनि बाटोमा पोखिएको एक मानो धान पोल्टामा उठाउँथिन्। मलाई त्यो केटाकेटी उमेरमा यस्तो लाग्थ्यो मेरी आमा कति लोभी तर आज तिनै प्राकृतिक शिक्षालयमा आर्जन गरेका ज्ञानले मेरो दैनिकी सहज पारेको छ। राजेश खनालको स्मृतिरमणमा म निकै रमाएँ। यहाँ प्रस्तुत गरिएका संस्मरणहरू जीवन्त पाठशालको जीवन्त पढाइ हो।

घुरको घुवाँ धुवाँ मात्र होइन। घुरबाट निस्किएको घुवाँले त्यो पुस्तालाई ( राजेश खनाल) समाज र संस्कृतिलाई हेर्ने एउटा सम्यक् दृष्टि दियो। घुरबाट निस्किएको धुवाँ संवेदनशील थियो र त त्यसको तापले राजेश खनाल जस्ता स्रष्टा जन्मायो। घुरको धुवाँ फोहोरको व्यवस्थापन मात्र होइन रहेछ। यो त जीवनकै व्यवस्थापन गर्ने विशेष पाठशाला पो रहेछ। अन्धडको टिकुला, त्यो शुक्रबारे लकडाउन पढ्दा यस्तो लाग्यो बच्चालाई बहादुर बनाउन, निरोगी बनाउन , हिम्मतिलो बनाउन, सन्तुष्ट बनाउन र चुनौतीहरूसँग लड्न त प्रकृतिसँग बारम्बार ठोक्किनु पर्छ। लड्नु पर्छ। पछारिनु पर्छ अनि दह्रोसँग उठ्नु पर्छ तब मात्र बालकको चौतर्फी विकास हुन्छ।

पुस्तक पढ्दै गर्दा मलाई निकै चिन्ता पनि भयो, प्रविधिको मुलायम ओछ्यानमा आरामले लडिरहेका युवाशक्ति तनावको जालमा बिस्तारै बिस्तारै जकडिएर औषधिको सहायताले हाँस्न विवश हुँदैछन्। प्रविधिको प्रभावमा आजका बच्चाहरू हृदय उघारेर हाँस्न पनि सक्दैनन्। खनालको स्मृतिमा ‘तिर्न नसकेको त्यो पाँच रुपैया होस् या ‘साथी हो आज परोर पाकेको छ’र कुर्थीको बास्ना र साइँला मामा’ भन्ने निबन्ध पढ्दा त्योबेलाको बच्चालाई खानाको महत्त्व र जीवन संघर्षमा घिस्रिरए ताछिएका पाइतालाले बलियो बनाएको देखिन्छ । यसमा बाल मनोविज्ञानको कोलाज हेर्न सकिन्छ। 

आँधी, तुफान र गड्याङ्गुडुङ्ग गरेर बिजुली चम्केको बेला छिट्टी बोकेर दगुरेका बालबालीकाहरूसँग जम्काभेट हुन्छ। अन्धडको टिकुला टिप्ने बालबालिका योद्धा भएर हिँडेका छन्। प्रकृतिसँग नजिक भएर हुर्किएका केटाकेटीहरूलाई प्रकृतिले नै जीवन्त तालिम दिनेरहेछ। त्यसैले त्यो पुस्ताको स्मरण क्षमता पनि चमत्कारपूर्ण देखिन्छ। निबन्धहरूमा धूमिल भैसकेका मधेसका ऐतिहासिक परम्पराहरू उद्भासित भएका छन्। मधेसको चलन यस्तो हुन्छ कि एक नेपालीभाषी, मैथिली भाषीसँग भेटभयो भने नेपाली भाषी मैथिलीमा बोल्न थाल्छ, भने मैथिली भाषी नेपाली भाषामा बोल्न थाल्छ। मलाई यो किसिमको संस्कृति सुन्न र देख्न पाउँदा बडो आनन्द आउँछ। भाषिक, धार्मिक सहसम्बन्ध, सहसम्मान र सद्भावको यो भन्दा ठूलो नमुना कहाँ भेट्न सकिन्छ? अखण्डता र एकता नै समाजको मजबुत कडी हो। मलाई घुरको धुवाँ पढ्दा यस्तो पनि लाग्यो, अरूको भाषा, सभ्यता र संस्कृतिप्रति परम श्रद्धा र हार्दिकता भएर नै होला नेपाली भाषीहरूले मैथिली भाषामा साहित्य सृजना  गरेका छन् भने मैथिली  भाषीहरूले नेपाली भाषामा साहित्य सिर्जना गरेका छन्। यहाँ राजेश खनालले नेपाली भाषामा सिङ्गो मधेशको आवाजलाई गुञ्जित पारेका छन्।

घुरको धुवाँको आयतन केवल फोहोर विसर्जन गर्ने कामका लागि मात्र सीमित छैन। खरानी र धुवाँ भएर नष्ट हुनु मात्र घुरको प्रक्रिया होइन। घुरको घुवाँ पर्यावरण, समाज, संस्कृति, कृषि, कचरी र साँच्चै भन्ने हो भने राजनीति गतिविधिको वहस गर्ने ठाउँ हो। वास्तवमा कल्पना र सम्झनाको सुरम्य फूलबारीमा मानव जीवन मुस्कुराइरहेको हुनेरहेछ। यदि हामीलाई विस्मृतिले छोप्यो भने हाम्रो जीवन वास्तवमै निरस, निरर्थक र निरुपाय बन्न पुग्छ। अतीतका मीठा मीठा सम्झनाहरूले वर्तमान जीवनलाई बढो रोमाञ्चित पार्दो रहेछ। 

स्मृतिका तिनै जीवन्त घटनाहरूको जीवन्त एलबम 'घुरको धुवाँ' साँच्चै पठनीय छ। मौलिक, मनोरम  मधेसको सन्दर्भ बडो लोभलाग्दो छ। संस्मरणका  घटनाहरूको प्रस्तुति बडो कौतुकमय छ। अतीत र वर्तमान समयलाई निकै सुन्दर तरिकाले गाँसेका छन् खनालले। चटक्क जोडिएको सेलरोटी जस्तै लाग्छन्  अतीत र वर्तमान गाँसिएका ठाउँहरू। भाषा, शिल्प र शैली निकै  सरल, सरस भएर सलल बगेको छ। राजेश खनालका स्मृतिको आँखिझ्यालबाट तराईको विहङ्ग्म वस्तुस्थितिलाई हेर्न सकिन्छ। आफूले बाल्यकालमा भोगेको संस्कार, संस्कृति र सम्बन्ध लोपोन्मुख हुँदैगइरहेको परिवेशमा खनाल धेरै पटक भावविह्वल भएका छन्। 

अक्षरको जादू यस्तो छ म पनि राजेश खनाल सँगसँगै जनकपुर, जयनगर, भलुवाही र भरतपुर पुगिरहेँ। पुस्तक भित्रका पात्रहरूसँग म पनि नजिक भएकीले नौलो अनुभूति पनि भयो। कहिले मुरही,चूडा, प्याजी, कचरीको स्वादमा हराएँ। आँखै अगाडि आँधीले झारेका आँपका चिचिला 'अन्धडको टिकुला' बटुल्न फूलबारी पुगें। कतै आँपका सिम्टा सुकाएको मान्द्रा देखेँ, कतै फक्का अचार त कतै खटमिठी, कतै कुचुवाअचारमा रङ्मङ्गिएँ। घुरको धुवाँ ताप्दै तराईको सुगन्धलाई समेट्न थालेँ। रामलीला हेदै। हनुमानको उफ्राइ कुदाइमा हाँस्दै, जनकपुरको रेल पछ्याउँदै म पनि रेलको लिक लिक दगुरेँ, दशैंको सांस्कृतिक कार्यक्रम चौरीमा थचक्क बसेर पुनः हेरेँ। कला, साहित्य र सङ्गीतमा डुबुल्की  लगाउँदै हिँडेका कलाकार राजेश खनालसँग परिचित भएँ । पहिलो पटक अरूको संस्मरण पढ्दा आफ्नै संस्मरण पढ्दै छु जस्तो भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.