मुलुकको समृद्धिको लागि एमाले सरकार आवश्यक : ओली
रसुवा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो संक्रमणमा गुज्रेको मुलुकको समृद्धिको लागि एमालेले नेतृत्व दिने बताए। आफूले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा एमालेले देशको नेतृत्व लिने उनको भनाइ छ।
गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने बताउँदै ओलीले टनेल तथा केरुङ काठमाडौं-रक्सौल रेलमार्गको अवधारणा पूरा गर्ने बताए। नेकपा एमालेको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारले युवालाई अवसर प्रदान गर्नुपर्ने र युवाहरूलाई सामाजिक विकृति र बिसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न आग्रह गरे।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरू सहभागी थिए। अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिवेशन उद्घाटन गरेका थिए।
नेता ओलीलाई कार्यकर्ताले स्वागत गरेका थिए। अधिवेशनबाट अध्यक्षका लागि हालका अध्यक्ष कर्न्याल लामा, उपाध्यक्ष डिल्ली सुवेदी, सचिव जनार्दन ढकाल, पूर्व प्रदेश कमिटीका सदस्य पेम्बा लामा र तेम्ब्रेल लामाको आकांक्षी देखिएका छन्।