काभ्रेमा वनमा आगो लगाउने पाँच जनालाई मुद्दा
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले एक महिनामा आगलागीका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। आगलागीका घटनामा वृद्धि हुन थालेसँगै प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
२०८० चैत २८ गते मण्डनदेउपुर नगरपालिका-११ जैसिथोकका ३१ वर्षीय मैते तामाङलाई नियन्त्रणमा लिएको थियो। तर्किनीटारको सामुदायिक वनमा आगो लगाएर सिँचाइको पाइप लाइन नै जलेपछि उनलाई जिल्ला वन कार्यालयले मुद्दा चलाएको प्रहरीले जनाएको छ।
सोही दिन पाँचखाल नगरपालिका-५ मा रहेको रातेमाटे सामुदायिक वनमा आगो लगाएको भन्दै प्रहरीले पाँचखाल–५ का विकास भुजेल र सविन सुनारलाई नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला वन कार्यालयले मुद्दा चलाएको छ।
आफ्नो बारीमा लगाएको आगो फैलिएर जंगलमा छिरेपछि नमोबुद्ध नगरपालिका-१ को ८० वर्षीया आइतीमाया तामाङलाई प्रहरीले सम्झाएर छाडेको छ। उनको आगो फैलाउने नियत नदेखेपछि प्रहरीले सम्झाएर छाडेको हो।
चौरी देउराली गाउँपालिका-६ को आरुबोट सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले सोही स्थानका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई मुद्दा चलाएको छ। मुद्दा लागेका सबैले आफ्नो खोरिया बारीमा असावधानीपूर्वक आगो बाल्दा जंगलमा फैलिएको उल्लेख गरिएको छ।