गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा आज विश्वासको मत मागेका हुन्।
गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् । उनी एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरूङ (दीपक मनाङे)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अधिकारीको नियुक्ति असंवैधानिक भन्दै गण्डकी कांग्रेसका संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
तर अदालतले उक्त रिट खारेज गरिदिएको थियो। न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजालसले उक्त रिट खारेज गरेको हो। सर्वोच्चले रिट खारेज गरिदिएपछि आज विश्वासको मत मागेका हुन्।