सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि चौतारा स्पोर्टिङ क्लबलाई
सिन्धुपाल्चोक : जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरीय लिग फुटबलको उपाधि चौतारा स्पोर्टिङ क्लबले प्राप्त गरेको छ।
लामोसाँघुको वसन्तपुर खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा चौतारा स्पोर्टिङ क्लबले सदाबहार युवा क्लब खाडिचौरलाई पेनाल्टी मार्फत ४–३ को गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो। निर्धारित र थपेको समयमा पनि दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा प्रवेश गरेको थियो।
पेनाल्टिमा चौतारा स्पोर्टिङका गोल रक्षक विकास काफ्लेले सदाबहार क्लबका जर्सी नम्बर ७ का दीपक मोक्तान र जर्सी नम्बर १० का सरोज पराजुलीले प्रहार रोकेपछि सदाबहार दबाबमा परेको थियो। सिन्धुपाल्चोकको ए डिभिजनका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा राइजिङ क्लब र लामोसाँघु क्लब रेलिगेशनमा तल झरेको छ भने एफसी र खोर्सानीबारी क्लब ए डिभिजनमा प्रवेश गरेको जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा प्रथम चौतारा स्पोर्टिङ क्लबले नगद १ लाख ११ हजार १ हजार ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै दोस्रो हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन्। विजयी क्लब र खेलाडीहरूलाई पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता वैशाख १२ देखि सुरु भएको थियो।
प्रतियोगितामा सदाबहार युवा क्लबका गोल रक्षक दिनेश कार्की वेस्ट किपर घोषित भएका छन्। त्यस्तै वेस्ट डिफेन्स भीम गुरुङ, हाइ स्कोरर सरोज पराजुली, अन्डर नाइनटीन इमरजीङ प्लेयर चौतारा स्पोर्टिङका जंग रायमाझी, मष्ट भ्यालुएबल प्लेयर सरोज पराजुली घोषित भएका छन्। त्यस्तै वेस्ट कोचमा सरोज भुजुलले उपाधि पाएका छन्। प्रतियोगितामा प्रथम हुने टिमले प्रदेश स्तरीय लिग फुटबल प्रतियोगितामा सहभागिता हुनेछन्।