विद्यालयमा कम्प्युटर प्रयोगशाला
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा प्रयोगशाला स्थापना भएको छ।
कक्षा ११ र १२ मा सञ्चालन गर्न लागिएको कम्प्युटर विज्ञान विषयको पठनपाठनका लागि शिख घर भई हाल बेलायतमा बसोबास गर्ने दानबहादुर गर्बुजाको संयोजनमा जुटाइएको १३ लाख रुपैयाँ सहयोगबाट कम्प्युटर प्रयोगशाला स्थापना गरिएको हो।
विद्यालयका प्रअ केदार कार्कीले प्रवासीले सहयोग जुटाएर २० थान डेक्सटप कम्प्युटर सहयोग गरेका बताए। ‘ग्रामीण क्षेत्रको विद्यालयमा प्रविधिमैत्री आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनको तयारी गरेका छौं,’ उनले भने ‘विदेशमा रहनुभएका विद्यालयका पूर्व विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुले २० थान डेक्सटप कम्प्युटर खरिद गर्नका लागि १३ लाख रुपैयाँ जुटाउनु भएको थियो।’
कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयले गण्डकी प्रदेश सरकारको सहयोगमा आवासीय (छात्रावास) सञ्चालन गरेको छ। हाल ३० जना विद्यार्थीले छात्रावासको सुविधा लिएका छन्। प्रदेश सरकारले प्रति विद्यार्थी दैनिक ६५ रुपैयाँका का दरले आवासीय विद्यार्थीलाई सहयोग गर्छ। अपुग रकम दाताहरुको सहयोगमा जुटाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागबिर पाइजाले बताए।
यसैबीच विद्यालयका पुर्व शिक्षक बेलबहादुर तिलिजाले बुवा बिराज तिलिजा र आमा हरिकला तिलिजाका नाममा छात्रावासका विद्यार्थीको भोजन सामग्रीका लागि २ लाख रुपैयाँ नगद उपलब्ध गराएका छन्। हाल बेलायत निवासी स्वातका जगबहादुर पुर्जाले भोजनका लागि ११ हजार रुपैयाँ सहयोग गरेका छन्। विद्यालयमा १६० जनाभन्दा बढी विद्यार्थीहरु छन्।