हाते कागजले फेरियो जीवन

हाते कागजले फेरियो जीवन
सुन्नुहोस्

कालीकोट : कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-९, मुम्राका वसन्त लुवारको जीवन एकाएक फेरिएको छ। बिहान खाए बेलुका खान नपुग्ने सामान्य घरमा जन्मिएका वसन्तको बाल्यावस्था खासै सुखमा बितेन। गाउँमा रोजगारी नपाइ दुई दशक विदेशमा बसेका वसन्त घरमा फर्केर नेपाली हाते कागज उद्योग सञ्चालन गर्न थालेका छन्।

नेपाली हाते कागज उद्योग स्थापना गरी दर्जनौं युवाहरूका लागि रोजगारी सिर्जना गरेका छन्। उनले भने, ‘गर्न सके आफ्नै गाउँघरमा सुन फलाउन सकिँदो रहेछ। अर्काको देशमा गुलामी गरेर जोखिम पूर्ण कामहरू गर्नुभन्दा घरमै बसेर व्यवसाय गर्नु राम्रो हो। अर्काको देशमा भन्न सकिँदैन अन्तमा बाकसमा घर फकिर्नुपर्ने हो या जिउँदो फर्किनु पर्ने हो। पहिला पहिला मलाई पनि लाग्थ्यो आफ्नो ठाउँमा बसेर केही काम छैन। कति दिन बेरोजगार भएर बस्ने, घरपरिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले सधैं सताउने गर्थ्यो। जब म विदेश पलायन भएँ मैले कुकुरले नपाउने दुःख पाए, न रुपैयाँ कमाउन सकियो न त घरपरिवारको इच्छा नै पूरा गर्न सकियो, समय बित्दै गयो घर परिवारका इच्छाहरू बढ्दै गए, मैले विदेशमा लिएको ज्यान जे थियो त्यही मात्र बचाएर ल्याएँ। अहिले ती दिन सम्झने हो भने आँखा भरी आँसु हुन्छ।’ 

कालीकोटका विभिन्न गाउँबाट बर्सनि भारत, मलेसिया, दुवै लगायतका अन्य देशहरूमा जाने युवाहरूको संख्या दिनानुदिन बढ्दै गएको छ। उनले भने,‘ विदेश कस्तो हुन्छ भनेर भोगिसकेकाले अब गाउँमै युवा लक्षित रोजगारीको सिर्जना गर्छु। हाल केही युवाहरू मिलेर गरिबी निवारणका लागि सिर्जनशील नेपाली हाते कागज लघु उद्योग स्थापना गरेका छौं। हाल दुई दर्जनभन्दा बढी युवाहरूले रोजगारी प्राप्त गरेका छन्। उनीहरूको घरका बुढा आमा बुवाले छोराको लास कुरेर एर्पोटमा कुरेर बस्नु पर्दैन।’

उमेरले ४६ पुगेका वसन्त रोजगारीका लागि विभिन्न देशमा गरी २० वर्ष बाहिर बसे। अर्काको देशमा कामदारले भोगेका पीडाहरू आफ्नो लागि मात्र होइन सारा नेपालीका लागि एक अलिखित किताब नै भएको बताए। भारतमा त कहिले आफूहरूलाई डोट्याल, कहिले बहादुर जस्ता उपनाम दिएर सधैं हेपेर बोलाउने गरेको प्रति आफूलाई निक्कै दुःख लाग्ने गरेको सुनाए। उनले भने, ‘यो समूह भित्र बसेर मैले काम गर्न पाउँदा विदेशीको गुलामी हुनुभन्दा आफ्नै गाउँमा केही गरेर खान सकिने वातावरण पाएको छु।’ 

उद्योग सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र केसीले आफूहरूसँग हाल कच्चा पदार्थ भएपनि विद्युतको अभावका कारण मेसिन अझै सञ्चालन गर्न नसकिरहेको बताए। उनले भने, ‘मेसिनको प्रयोगबिना कागज राम्रो नआउने भएकाले हाल ५ बोरा पाउडर, जंगलमा पाइने सेतो वडुको बोक्राको भित्र पट्टिको सेतो भाग जम्मा गरेर राखेका छौं।’ 

लघु उद्यम विकास तथा गरिबी निवारण कोषले कार्यक्रममार्फत केही सहयोग गरे पनि स्थानीय सरकारले सहयोग नगरेको प्रति युवाहरू आक्रोशित छन्। सान्नी त्रिवेणीका स्थानीय युवा माइकल बुढाले भने, ‘हिजो विकास जस्तो थियो आज उस्तै छ, गरिबका दुःख कसले बुझ्ने होला, हाम्रा लागि स्थानीय सरकारले अरू केही नगरे पनि थ्रि फेज लाइन जडान गरिदिएको भए विदेश यही हुने थियो। 

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्वती सिंह सज्यालले समूहका सदस्यहरूले उत्पादन गरेको नेपाली हाते कागज गाउँपालिकामा रहेको न्याय समितिले समेत खरिद गर्ने गरेको बताइन्। उनले भनिन्, ‘स्थानीय सरकार गाउँका साना लघु उद्योगहरूलाई विस्थापित होइन स्थापित गरेर लैजाने पालिकाको कार्यनीति रहेको छ।’ 

यसैगरी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले मुम्रामा स्थापना गरिएको गरिबी निवारणका लागि सृजनसिल लघु नेपाली हाते कागज उद्योगलाई थप सहयोग गर्ने बताए। उनले भने, ‘गाउँ विकास समिति हुँदा समेत त्यतिबेला मुम्रामा गाविसले नेपाली हाते कागज उद्योग सञ्चालन गरेको भए पनि आजभोलि निष्क्रिय भएकाले अब कुनै पनि लघु उद्योग निष्क्रिय हुन नदिने प्रतिबद्धता गरे।’ 

सान्नी त्रिवेणी-६ का ७० वर्षीया कपुरे धामीले भने, ‘वसन्तका जस्तै अन्य युवाहरूका दिन पनि विस्तारै फर्किदैछन्। गाउँमै रोजगारीको अवसर प्रदान भएको छ। आफ्ना छोराछोरीलाई नियमित विद्यालयमा पढाउन पठाएका छन्। घरमा पाकेको तातो खाना खाएका छन्। श्रीमान् श्रीमतीको झैझगडा भएको छैन। अर्काको लहलहैमा नलागेर काम धन्दामा सबै लागेको देख्दा एक सहकारी बैंक जस्तै नेपाली हाते कागज उद्योगको स्थापनाले गाउँमा आशाको दियो बलेको छ।’

उत्पादन गरिएको नेपाल हाते कागज बेचेर मासिक एक लाख बराबरको आम्दानी हुन्छ। केही गाउँ पालिकामा बिक्री गर्छन् भने केही जिल्ला तथा अन्य जिल्ला र प्रदेशमा समेत बिक्री गर्ने गरेका छन्। नेपाली हाते कागज उद्योगबाट भविष्यमा राम्रै हुने वसन्तको अपेक्षा छ। गाउँपालिका अध्यक्ष मोहन केसीले पनि आगामी दिनमा गाउँपालिकाले मेसिन खरिद गरिदिने प्रतिबद्धता गरेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.