वामपन्थी पार्टीलाई एमालेमा समाहित हुन ओलीको आह्वान
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरेका छन्।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने काममा पार्टी लागेको भन्दै आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने पार्टी र व्यक्तिलाई एमालेमा समाहित हुन आग्रह गरे।
उनले एमालेले स्वार्थका लागि होइन, सफलताका लागि एकताको अभियान चलाउने बताए। ओलीले अहिले देशमा एउटा भुईँफुट्टा वर्ग जन्मिएको बताउँदै त्याग, बलिदान र योगदान बिर्सने मात्र नभइ, योगदानको समेत अवमूल्यन गर्ने प्रवृत्ति बढेको बताए।
एमाले वैचारिक र राजनीतिकरूपमा स्पष्ट भएको उनको भनाइ छ। अध्यक्ष ओलीले चुनावी तालमेलदेखि पार्टी एकतासम्मको काम गरेर कम्युनिस्ट पार्टीलाई अघि बढाएको भए पनि त्यसलाई टिकाइराख्न नसकेको बताए। उनले वामदेव गौतमले आफू एमालेमा फर्कन चाहेको भनि राखेको एकताको भावना निक्कै सकारात्मक भएको बताए। त्यस विषयमा छुट्टै बसेर छलफल गर्ने उनले बताए।