अर्थतन्त्र चलायमान हु्नेगरी बजेट ल्याउँछौं : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले सरकारको नीति तथा कार्यक्रम,वित्त नीति र मौद्रिक नीतिमा तालमेल कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच सामजस्यता गरिने बताएका हुन्। उनले त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको बताए। ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्धेश्य र नीति एउटै हुन्छ’,उनले भने, ‘नीति कार्यक्रम,वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ ।’
गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको मन्त्री पुनले बताए । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चिित उद्धेश्य प्राप्तिका लागि सहकार्य गरिने उनले उल्लेख गरे ।
‘सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने,सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो’,उनले भने,‘त्यसका लागि सरोकारवालाहरूबीचमा छलफल र परामर्श भइरहेको छ ।
उनले अर्थतन्त्रमा राम्रो गरिरहेका नीतिले निरन्तरता पाउने स्पष्ट गरे । राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसँग आफ्ना कुरा राख्य निजी क्षेत्रलाई आग्रह गरे । मुलुकको अवस्थितिअनुसारको आर्थिक नीति हनुपर्ने चर्चा गर्दै मन्त्री पुनले नेपालको भू–राजनीतिक अवस्थितिअनुसार तत्काल प्रवद्र्धन गर्नुपर्ने क्षेत्र सूचना प्रविधि भएको आफूहरूलाई लागेको उल्लेख गरे । ‘हाम्रो भू–अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा फोकस हुँदा त्यसबाट ठूलो संख्यामा रोजगारी सृजना हुने र लगानी आउने सम्भावना बढी हुन्छ भन्ने हामीलाई लागेको छ’,मन्त्री पुनले भने,‘बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्ने सोच बनाएका छौं ।’
यस्तै बजेटमा ऊर्जा, पर्यटन, कृषि, ठूला र मझौला पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथतिकता दिइने उनको भनाइ थियो । फरक प्रसंगमा मन्त्री पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट गरे । ‘राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन’,उनलले भने,‘सरकारले निजी क्षेत्रलाई प्रवर्दन र सहजीकरण गर्ने हो ।’