काठमाडौं : आज मातातीर्थ औंसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा,भक्ति र सम्मानका साथ मनाइँदैछ। वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आर्शिवाद लिने चलन छ।
आमा नभएकाहरू भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। यसै अवसरमा मातातीर्थ काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा मेला लागेको छ।
आमा नहुनेहरू उक्त कुण्डमा स्नान तथा हरिहरको दर्शन र पूजाअर्चना गरिरहेका छन्। आजको दिन मातातीर्थ पोखरीमा आमाको मुखको प्रतिबिम्ब देख्ने जनविश्वास रहेको छ ।
यहाँ स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास छ।