कोशीमा किचलो : प्रदेश सभा बैठक आव्हान गर्न प्रदेश प्रमुखकहाँ पुगे मन्त्री
कोशी : कोशी प्रदेश सरकारले जेठ ११ गतेका लागि प्रदेश सभा बैठक आव्हान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेश प्रमुखलाई प्रदेश सभा बैठक आह्वानका लागि पुनः स्मरण गराएको जानकारी दिए ।
मन्त्री राईले भने,‘प्रि–बजेट छलफलका लागि चैत्र २६ गतेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुखलाई संसद आव्हान गराएको थियो । सोही अनुरुप आजपनि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते सभा सञ्चालनका लागि अनुरोध गरेको हो।'
यससँगै बुधबार बिहान एक होटलमा गठबन्धन दलतर्फबाट नेकपा एमाले र नेकपा माओवादीका प्रदेशका उच्च नेताहरूको छलफल भएको छ । मुख्यमन्त्रीका दाबेदार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की, प्रमुख सचेतक रेवतीरमण भण्डारी,लीलाबल्लभ अधिकारी,नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङग्बो, जीवन आचार्यलगायत छलफलमा थिए ।
छलफलपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि परामर्श गर्न पुगेका थिए ।