मनास्लु क्षेत्रमा १५ वटा हिमचितुवा
गोरखा : मनास्लु क्षेत्रमा १५ वटा हिमचितुवा रहेको पाइएको छ । विगत तीन वर्षदेखि गरेको गणनाबाट सानो ठूलो गरी १५ वटा हिमचितुवा रहेको खुलेको हो । ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्यूट अफ चेक एकेडेमी साइन्स र त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान(हेटौडा क्याम्पस)को समन्वयमा डाक्टर विक्रम श्रेष्ठ र सचित तिमिल्सिनाको टोली सो क्षेत्र पुगेर चितुवाको गणना गरेको हो। सन् २०२१ बाट सुरु भएको गणना हालै सकिएको श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार चुम र नुव्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको छ । अति लोपोन्मुख रहेको हिमचितुवा मनास्लुलगायत एसियाको १२ वटा देशमा मात्र पाइन्छ । नुव्री भ्यालीमा सन् २०२० नोभेम्बरदेखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो ।
चुमभ्यालीमा भने २०२१ डिसेम्बरदेखि २०२२ फेव्रेअरीसम्म गणना भएको थियो । गणनाका लागी उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०/६० वटा क्यामेरा जडान गरेका थिए । कुल ६ सय वर्ग किलोमिटर क्षेत्रको तस्बिर खिच्ने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए । ‘२५ सय देखि ५ हजारसम्म को हाइट भएको ठाउँमा क्यामेरा जडान गरेका थियौ,’उनले भने । उनका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो ।
उनका अनुसार यसभन्दा अघि सो क्षेत्रमा हिमचितुवाको गणना भएको थिएन । १५ वटा चितुवाको संख्यालाई उनले सन्तोषजनक मानेका छन् । ‘अन्नपूर्ण र लाङटाङको करिडोर क्षेत्र मनास्लु भएकाले पनि यहाँ हिमचितुवाको गणना हुनु आवश्यक थियो,’उनले भने,‘त्यसैले हामीले यो काम गरेका हौँ ।’
उनका अनुसार अनुसन्धान गरेर डाटा संकलनको काम सकिएको छ । विश्लेषण गरेर प्रतिवेदन तयार गर्ने काम भने बाँकी छ । दुई महिनाभित्र प्रतिवेदन तयार हुने उनले जानकारी दिए । ‘हिमचितुवाको बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो,नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ,’उनले भने ।
हिमाली क्षेत्रको जैविक विविधतालाई सन्तुलित राख्न हिमचितुवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । मान्छेलाई हैरान पर्ने जंगली कुकुर, फ्याउरोहरुलाई यसले शिकार बनाउने हुँदा मानव जनजीवनलाई सहयोगीको भूमिका निर्वाह गर्ने मानिन्छ ।
हिमचितुवा नेपालको अपिनप्पा, हुम्ला, से–फोक्सुण्डो, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा क्षेत्रमा हिमचितुवा पाइने अध्ययनले देखाएको छ ।
यो सबैभन्दा धेरै से–फोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ । यसको सङ्ख्या सगरमाथामा सन् २००६ मा जम्मा ६ वटा रहेकामा २०१५ मा घटेर जम्मा तीनवटा फेला परेको छ । हिमचितुवाको अध्ययन, अनुसन्धान र गणनाले संरक्षित क्षेत्रलाई कहाँसम्म विस्तार गर्ने वा कति साँगुरो बनाउने भन्ने सम्मको आधार तयार पारिन्छ ।