डिजिज एक्स : कति संक्रामक ?
डिजिज एक्स देखिए कोभिड–१९ को लहरमा जस्तै शारीरिक र मानवीय तथा मानसिक क्षतिको सामना फेरि गर्नुपर्ने हुन सक्छ।
इतिहासका विभिन्न कालखण्डहरूलाई हेर्दा लाग्छ, विश्वमा विभिन्न रोगको महामारी भयो। ती महामारीहरूले उथलपुथल ल्याए। त्यसमा लाखांैले ज्यानसमेत गुमाए। पछिल्लो समय कोभिड-१९ यसको ज्वलन्त उदाहरण हो। नेपालमा १२ हजारभन्दा बढी नागरिकको यही भाइरसको कारणले ज्यान गुमाए।
ठूलाठूला महामारीले विगतमा लाखौंको ज्यान लिनुमा मुख्य कमजोरी भनेकै पूर्वतयारी नहुनु हो। पूर्वअनुमान गर्न नसक्नु, संक्रमणलाई दु्रत पत्ता लगाउन नसक्नु, संक्रमण रोक्ने उपयुक्त र प्रभावकारी विधि र तरिका थाहा नहुनु वा भएर पनि त्यसको कार्यान्वयन गर्न विभिन्न कारणले नसक्नु र खोप विकासमा ढिलाइ हुनुलगायतका कारणलाई आधीलाई मुख्य रूपमा लिइन्छ।
हालै विश्व स्वस्थ संगठन (डब्लूएचओ) ले सम्भावित (हाल काल्पनिक) घातक संक्रमणलाई ‘डिजिज एक्स’ को नाम दिएको छ। जुन ढिलो, चाँडो विश्वलाई नै प्रभावित पार्न सक्ने अति संक्रामक भनिएको छ। यसको नामकरण गरिएपछि मात्र कोभिड—१९ महामारी देखिएकोले यसलाई पहिलो ‘डिजिज एक्स’ रूपमा लिएको छ। केही हप्ताअगाडि (फेब्रुअरी, २०२४) ‘वार्विक इकोनोमिक समिट’ बेलायतमा भएको सम्मेलनमा विश्व स्वास्थ्य संगठनका निर्देशकले कोभिड—१९ ले विश्वभरि मानवीय, आर्थिक र मानसिक अवस्थामा पारेको ठूलो क्षति सम्भावित अर्को डिजिज एक्सको कारणले फेरि सामना गर्नु नपरोस् भनेर सबै गम्भीर भई लाग्नुपर्ने भनेका थिए।
वैज्ञानिकहरूले डिजिज एक्सलाई कोभिड–१९ भन्दा कयौं गुणा बढी संक्रामक र घातक हुन सक्ने आकलन गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले विभिन्न संक्रमणहरूलाई घातकताको आधारमा सम्भावित महामारी वा पेनडेमिकको स्वरूप लिन सक्ने सूचीमा समावेश गरेको छ। कोभिड—१९, क्रिमियन–कंगो हेमोरेजिक फिबर, इबोला तथा मार्गबर्ग भाइरस, लास्सा फिबर, मिडलइस्ट रेस्पिरेटोरी सिन्ड्रोम, सिविएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम, निपा भाइरस, रिफ्ट भ्याली फिबर, जीका भाइरस र डिजिज एक्स रोगहरू सो सूचीमा समावेश गरिएका छन्। डिजिज एक्सबाहेक बाँकी सबै पहिचान भइसकेका वा थप अनुसन्धान भइरहेका वा धेरै हदसम्म जानकारीमा आइसकेका संक्रमणहरू हुन।
श्वासप्रश्वास वा हावाको मध्यमबाट सर्ने वा शरीरको तरल पदार्थ छोएर सर्न सक्ने संक्रमणहरू नै डिजिज एक्सको रूपमा आगामी दिनमा देखिने छन्। नेपालमा अति सीमित संक्रमणहरूको मात्र पहिचान गर्न प्रयोगशाला परीक्षण हुने हुँदा ज्वरोका अधिकांश कारक संक्रमण थाहा हुने गरेका छैनन्।
यीमध्ये नेपालमा कोभिड–१९ र सिविएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम देखिसकेको छ। यीबाहेक क्रिमियन–कंगो हेमोरेजिक फिबर, निपा भाइरस र जीका भाइरसजस्ता संक्रमणहरू छिमेकी देश भारतमा देखिएका छन्। यी थप तीन संक्रमणको जोखिममा नेपाल पनि विभिन्न कारणले रहेको देखिन्छ। डिजिज एक्स हाल काल्पनिक वा अनुमान गरिएको भएता पनि ढिलो/चाँडो यथार्थमा सामना गर्नुपर्ने संक्रमण भएकोले कहीँ कतै कुनै पनि बेला देखिन सक्ने र देखिने नै छ। वैज्ञानिकहरूले डिजिज एक्सलाई कोभिड–१९ भन्दा कयौं गुणा बढी संक्रामक र घातक हुन सक्ने आकलन गरिरहेका छन्।
विगतको अनुभवलाई आधार मान्दा र विश्लेषण गर्दा अतिसंक्रामक (तीव्र गतिमा फैलने) घातक तथा अन्तर्राष्ट्रिय स्तरमा फैलन सक्ने क्षमता वृद्धि गर्ने देखिन्छ। श्वासप्रश्वास वा हावाको मध्यमबाट सर्ने वा शरीरको तरल पदार्थ छोएर सर्न सक्ने संक्रमणहरू नै डिजिज एक्सको रूपमा आगामी दिनमा देखिने छन्। नेपालमा अति सीमित संक्रमणहरूको मात्र पहिचान गर्न प्रयोगशाला परीक्षण हुने हुँदा ज्वरोका अधिकांश कारक संक्रमण थाहा हुने गरेका छैनन्।
डिजिज एक्स विश्वको कुनै पनि ठाउँ र क्षेत्र र कुनै पनि समयमा देखिन सक्ने जोखिम रहेकोले अन्य मुलुकहरू झैं नेपाल पनि चनाखो र गम्भीर हुन उत्तिकै आवश्यक छ। तर दुर्भाग्यबश, नेपालमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापित हुन सकेको छैन। उच्च प्रविधियुक्त अन्तर्राष्ट्रिय सरुवा अस्पताल बनाउने सुरसारमा नहुनुले डिजिज एक्स देखिएको अवस्थामा कोभिड–१९ को लहरमा जस्तै शारीरिक र मानवीय तथा मानसिक क्षतिको सामना फेरि गर्नु नपर्ला भन्ने अवस्था छैन।
- डा.पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।