मेचीनगरबाट करिब १३ लाखको लत्ताकपडा र चाइनिज लाइटर बरामद
झापा : झापाको पूर्वी नाका मेचीनगरबाट ठूलो मात्रामा लत्ताकपडा र चाइनिज लाइटर बरामद गरिएको छ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बिहीबार बिहान ६ बजे प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएको संयुक्त टोलीले बरामद गरेको हो ।
मेचीनगर नगरपालिका–१ स्थित भालुखोपबाट भन्सार छलेर भित्राइएको १० वटा बोराभित्र १ हजार ७५८ पिस पर्दा कपडा र मोजा ३७८ पिस रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
बरामद गरिएको कपडा मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ । त्यस्तै बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर–७ धनकुटे बस्तीबाट २९ काटुन चाइनिज लाइटर बरामद गरेको छ ।
नेपालबाट भारत लैजानका लागि परालको कुन्युमा लुकाइछिपाई राखेको अन्दाजी २ लाख ९० हजार रुपैयाँ बराबरको लाइटर बरामद गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । पछिल्लो समय नेपालबाट अवैध रुपमा भारततर्फ चाइनिज लाइटरको तस्करी बढेको छ ।