जलेश्वरका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार,उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नविन घिमिरेले उनीहरूविरुद्ध मुद्दा दायर गर्दै प्रतिव्यक्ति ५ लाख ८४ हजार ६३७ रुपैयाँ बिगो माग गरिएको जानकारी दिए।
अख्तियारले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा प्रमुख साह,उपप्रमुख खातुन,प्रशासकीय अधिकृत झा, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा,अन्य कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध आव विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
यसैगरी अधिकृत छैठौं धिरेन्द्र झा,नगरपालिकाका इन्जिनियर पवन कुमार झा,राजेश कुमार चौधरी र सब इन्जिनियर दिपेश कुमार साह,कार्यपालिका सदस्य सोगरा खातुन,उपभोक्ता समितिका अध्यक्ष राकेश कुमार साह,सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूले जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी मूल्यांकन गराइ झुट्टा बिल तयारी गरी ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी लिएको पुष्टि हुन आएको अख्तियारको दावी छ।