बैंक लुट्न आएकाले गरे सुरक्षागार्डको हत्या
राजविराज : बैंक लुट्न आएका एक जनाले सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरस्थित नेपाल वैंक लिमिटेडका सुरक्षागार्डको हत्या गरेका छन्। बिहीबार बैंकमा मृत फेला परेका उनको खुकुरी प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले बताए।
नेपाली सेनाबाट सेवा निवृत्त भएपछि बैंकमा सुरक्षा गार्ड रहेका सप्तकोशी नगरपालिका-२ का ५६ वर्षीय परशुराम फुयाल सुतेकै ठाउँमा विहान मृत फेला परेका हुन्। फुयाल विगत ८ वर्षदेखि बैंकमा सुरक्षा गार्ड रहेका थिए। बैंक स्रोतका अनुसार फुयालको शवको वरिपरी रगतका टाटा देखिएको छ।
सोही बैंकका अर्का सुरक्षा गार्ड कर्ण थापाका अनुसार विहान ७ वजेसम्म पनि गार्डको कोठा नखुलेपछि बैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। उदयपुरको गाईघाटका थापा भने आमाको श्राद्ध गर्न बुधबार घर गएका थिए।
डिएसपी नेउपानेका अनुसार लुटपाट गर्ने उद्देश्यले आएकाले हत्या गरेको हुन्। प्रहरी घट्नास्थल पुगेर बैंकको सीसीटीभी फुटेज हेर्दा राति करिब १२ बजेपछि नकावधारी एक जना ब्यक्ति बैंकभित्र पसेर हत्या गरेको देखिन्छ। हत्या गरी बैंकबाट चोरी गर्ने प्रयास भने सफल नभएको बैंकले जनाएको छ।
थप अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित प्रहरी चौकी लालगढ परिसरको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको छ। तालिम प्राप्त कुकुर परिचालन गरिए पनि आरोपित पत्ता लाग्न सकेको छैन। मृतकका आफन्तले बिहीबार राति बैंकसँग सहमति भएपश्चात मात्र शव उठाउन दिएका छन्। शव उठाउन नदिएपछि प्रहरीले लाठीचार्ज समेत गर्नु परेको थियो। मृतक परिवारलाई बैंकमा रोजगारी र उचित क्षतिपूर्तिको सहमतिपश्चात शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको सप्तरी प्रहरीले जनाएको छ। मृतक फुयालका श्रीमती, २ छोरा र २ छोरी छन्।