दुवैको पृष्ठभूमि समान छ, सञ्चारकर्म । औपचारिक शिक्षामा गगन अगाडि छन्, रवि पछाडि । सत्ता दाउपेचमा रवि अगाडि छन्, गगन पछाडि । पार्टीभित्र पनि रविको वर्चस्व छ, गगन आफ्नो पार्टीमा अल्पमतमा छन् ।
काठमाडौं :
रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री : गगनजीलाई चुनौती दिन चाहन्छु । मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । प्रमाण दिन सक्नु भने उहाँले राजनीति छोड्नु पर्ने हुन्छ । यो स्वीकार गर्न तयार हो ? संसदीय समिति त सामान्य कुरा हो, बनाए हुन्छ ।
ooo
गगन थापा, महामन्त्री, नेपाली कांग्रेस : पहिले काठमाडौं क्षेत्र नं ४ मा आउँछु भन्नुभयो । आउनुस् । बागमतीमा नुहाउँछु भन्नु भो । नुहाउनुस् । चुनौती स्वीकार गर्छु ।
ooo
राजेन्द्र बानियाँ : यदि गठबन्धन नभएको भए, कांग्रेस एक्लै चुनावमा गएको भए र तपाईंहरूको केही कुरा मिलेको भए रवि लामिछाने समूह नेपाली कांग्रेसबाट राजनीतिमा हुन्थ्यो ?
गगन : मेरो विचारमा हुन्थ्यो होला । थुप्रै मान्छेहरू ।
राजेन्द्र : गएको चुनावमा काठमाडौं—४ मा सहयोगका लागि तपाईंले कुनै दिन टेलिफोनमा वा भेटेर रवि लामिछानेसँग कुरा गर्नुभयो ?
गगन : कति साथीहरूलाई उहाँहरूले टिकट दिएर लडाउन खोजिरहनु भएको थियो, मैले ती साथीभाइलाई नलडाउनुहोस्, ठीक हुँदैन भनेर संवाद गरें । यी सबै कुराहरू गरें मैले ।
ooo
पत्रकार राजेन्द्र बानियाँले हालै लिएको अन्तर्वार्ताको यो अंशले नै भन्छ, विगतमा गगन थापा र रवि लामिछानेको औधी घनिष्ठता थियो । गगन रविलाई दाइ भन्थे । रवि गगनको राजनीतिक यात्रामा भरपुर सहयोग पुर्याउँथे ।
गएको चुनावताका रवि पत्रकारिता छाडेर एकाएक राजनीतिमा होमिए । राष्ट्रिय स्वतन्त्र पार्टी खोले । त्यसले जनमत बटुल्दै गयो । केही ठाउँमा ठूला दलका प्रभावशाली नेता उनको उपस्थितिले तर्सिए । त्यसमध्ये एक गगन पनि थिए । उनले आफ्नो काठमाडौं—४ मा रास्वपाको प्रभावशाली उम्मेदवार नदिन रविलाई भनेको र त्यहीअनुसार भएको समेत भनियो ।
राजेन्द्रले नै उनलाई ‘घण्टी कांग्रेस’को उपमा दिएकोबारे सम्झाएका छन् । भलै यसमा गगनले आरोपको पछि नलाग्ने जवाफ दिएका छन् । तैपनि यति चाहिँ स्वीकारेका छन्, ‘कति साथीहरूलाई उहाँहरूले टिकट दिएर लडाउन खोजिरहनु भएको थियो, मैले ती साथीभाइलाई नलडाउनुहोस्, ठीक हुँदैन भनेर संवाद गरें । यी सबै कुराहरू गरें मैले ।’
ooo
अहिले तिनै दुई नेताबीच आपसमा तेजोबध गर्ने कार्य सडकदेखि सदनसम्म चलेको छ । दुवै वाकयुद्धमा उत्रेका छन् । एकले अर्कोलाई तथानाम चुनौती दिएका छन् । बजेट अधिवेशनको पहिलो दिन यी दुवै नेता संसद्मा भौतिक रूपमा आमनेसामने भए । बजेट अधिवेशनको पहिलो दिनमै संसद शुक्रबार अवरुद्ध भयो ।
सभामुखलाई बैठक सञ्चालन गर्नै हम्मेहम्मे पर्यो । सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित गरे । दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए । नेपाली कांग्रेसले संसदीय दलको बैठकबाट लामिछानेलाई बोल्न दिने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने बोल्न रोस्टममा जान खोजे । तर, प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरूले घेराउ गरे । रविले रोस्टम जाने बाटो नै पाएनन् ।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने आवाज बैठकमा रन्कियो । सांसदहरूले संसदीय समिति गठनको माग गर्दै उठेर विरोध जनाए । त्यसपछि सभामुख घिमिरेले कांग्रेस महामन्त्री थापालाई बोल्ने अनुमति दिए । तीन मिनेट बोल्ने समय पाएका थापाले निगाहाको समय चाहिन्न भन्दै सभामुखमाथि कटाक्ष गरे ।
थपिएको समेत गरी ५ मिनेटको समयभित्र लामिछानेमाथि व्यंग्य गरे । ‘समय नदिए पनि केही छैन । किनकि मलाई निगाहाको समय चाहिँदैन । मलाई मेरो हकको समय चाहिन्छ,’ कांग्रेस महामन्त्री थापाले कड्किँदै रविलाई प्रश्न गरे, ‘किन डराएको ? किन भागेको ? गल्ती गरेको छैन भने किन आत्तिएको ?’
यो समाचार तयार पारिरहँदा गगन र रविका समर्थक कार्यकर्ता/शुभचिन्तकले सामाजिक सञ्जालको भरपुर प्रयोग गरिरहेका छन् । एकअर्काप्रति शब्दवाण प्रहार जारी छ । दुवै सदनको संयुक्त बैठक भने जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।
ooo
मुलुकको पुरानो पार्टी नेपाली कांग्रेसका महामन्त्री हुन्, गगन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि । गगनले रविलाई दाइ भन्छन् । रविले गगनलाई भाइ । यी दुवै युवा नेताको चाहना मिल्छ । त्यो हो, आगामी निर्वाचनपछि प्रधानमन्त्री हुने । गगन भूतपूर्व प्रधानमन्त्रीहरूलाई बिदाइ गर्न चाहन्छन् । रवि प्रधानमन्त्रीका रूपमा मुलुकलाई नयाँ दिशा दिने चाहना व्यक्त गर्छन् ।
तर, पछिल्लो समय लोकप्रियतावादी राजनीतिमा रमाइरहेका छन् दुवै । ‘लोक रिझाउनु त राम्रो कुरा हो, ‘राजनीतिक चिन्तक श्याम श्रेष्ठ भन्छन्, ‘तर, लोकलाई छलछाम गर्नु भएन । लोकरिझ्याइँमा कुन नेता लागेको छैन र ? युवा नेताद्वय (गगन/रवि) अपवाद होइनन् ।’
ooo
उनीहरूको सम्बन्ध झन्डै साढे दुई दशक पुरानो हो । तत्कालीन केएटीएच एफएम (हाल इमेज) मा दुवैले फरक सिफ्टमा काम गर्थे । गगनले एचबीसी एफएममा समाचार वाचन गरे । रवि टेलिभिजनकर्ममा होमिए । गगनले रविलाई सम्मानपूर्वक दाइ भन्थे, रविले स्नेहपूर्वक भाइ । पछिल्लो समय यी दाजुभाइको लोकरिझ्याइँ (पपुलरिज्म)ले राजनीतिको अन्य पक्षलाई ओझेल पार्दै गएको छ ।
पूर्वहितैषी दुवै जना सञ्चारकर्मबाट राजनीतिमा उदाएका हुन् । रविले टेलिभिजनकर्म रोजे । गगनले राजनीति रोज्दासम्म सम्बन्धले थप उचाइ लिएको थियो । २०७० सालमै रविलाई पार्टीमा भित्र्याउन चाहन्थे, गगन । समानुपातिक सूचीमा पार्टीको तर्फबाट उनले बनाएको प्रस्तावित १० जनाको सूचीमा एक थिए रवि ।
उनको प्रस्तावले स्पेस पाएको भए सम्भवतः रवि कांग्रेसका युवा नेताका रूपमा चिनिन्थे । गगन–रवि गठजोडले हुन सक्ने जोखिमको आँकलन गरे, कांग्रेस सभापति शेरबहादुर देउवाले । फलस्वरूप गगनको प्रस्तावलाई बेवास्ता गरे । राजनीतिक उचाइ लिँदै पार्टी महामन्त्रीमा निर्वाचित भए गगन । हुँदाहुँदा संसदीय दलको नेतामा सभापति देउवासँगै लडे ।
लोक रिझाउनु त राम्रो कुरा हो । तर, दुवै युवा नेताले लोकलाई छलछाम गर्नु भएन ।
श्याम श्रेष्ठ, राजनीतिक चिन्तक
काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगनलाई अप्रत्यक्षरूपमा साथ दिए रविले । त्यहाँ रास्वपाले उम्मेदवारी नै दिएन । २०७९ सालमा पार्टी स्थापना गरी चुनावी मैदानमा रवि उत्रिँदासम्म पनि दुवै नेताबीचको सम्बन्ध प्रगाढ नै रहेको निकटवर्तीहरू बताउँछन् ।
कांग्रेस–रास्वपा चुनावी सहकार्यका लागि रविले प्रस्तावसमेत राखेका थिए । गगनले उम्मेदवारी दिएको काठमाडौं ४ बाहेक बाँकी ९ वटै क्षेत्रमा रास्वपाले उम्मेदवारी दिएको थियो । थापालाई घण्टी कांग्रेसको आरोप नै लाग्यो । निगाहा र कृपामा नबस्ने भन्दै स्वर्णिम वाग्लेले राजनीतिक प्याराडाइम सिफ्ट गरे । रास्वपामा प्रवेश गरी तनहुँ– १ को उपनिर्वाचनमा उम्मेदवार बने । कांग्रेसको चुनावी कमान्डर तोकिएका गगनले चुनावी माहोलमा रास्वपा र वाग्लेविरुद्ध भाषण गरे । गगन र रविवीचको दूरी त्यसपछि भने ह्वात्तै बढ्यो ।
ooo
दुवैको पृष्ठभूमि समान छ, सञ्चारकर्म । औपचारिक शिक्षामा गगन अगाडि छन्, रवि पछाडि । सत्ता दाउपेचमा रवि अगाडि छन्, गगन पछाडि । पार्टीभित्र पनि रविको वर्चस्व छ, गगन आफ्नो पार्टीमा अल्पमतमा छन् ।
प्रौढबीच गगन लोकप्रिय छन्, युवामाझ रवि चर्चित । जनतालाई सपना र भावनामा वशीभूत बनाउने सामथ्र्य रविको छ । गगनमा ऊर्जा र जोश छ । मन्त्री होइन प्रधानमन्त्री बन्ने मुद्दा उठाउँछन्, गगन । संसदीय निर्वाचनमा लडेका गगन पूर्वप्रधानमन्त्रीहरूलाई राजनीतिबाटै बिदाइ चाहन्छन् ।
रवि वाकपटु छन् । चातुर्य छ उनमा । तर्क गर्न सक्ने क्षमता छ । सामुन्ने उभिएको जो कोहीलाई नतमस्तक बनाउन सक्ने खुबी छ । आक्रोशित र विचलित युवामाझ लोकप्रिय हुनु उनको सबल पक्ष हो । भ्रष्टाचारिविरुद्ध निर्मम हुने उद्घोषको कार्यान्वयनमा आशावादी हुनेहरू धेरै छन् । छोटो समय नै किन नहोस् ? सत्ता बन्डामा उनी सफल देखिएका छन् । बालुवाटारदेखि बालकोटसम्म धाएरै किन नहोस्, दुई पटक उपप्रधान एवं गृहमन्त्री बन्न सफल भए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता गाँस्न सफल छन् उनी । त्यसैले २७ वैशाखमा ओलीले रविको बचाउ र कांग्रेसको कटाक्ष गरे ।
‘प्रधानमन्त्री भइदेऊ भनेर सबैतिर पुगेको छ, नेपाली कांग्रेसका प्रमुख सचेतक मुद्दाको फाइल लिएर बहस गर्न जस्तो गरेर आउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालय भन्दैछ केही पनि छैन । उहाँहरू विभिन्न पृष्ठको कुरा ल्याउनुहुन्छ । उहाँको नाममा नजाऔं, सहकारीको अवस्थामा जाऔं भन्दा मान्नुहुन्न । उहाँहरूले रविजीको राजीनामा माग्या छैन भन्नुहुन्छ,’ ओलीले थपे, ‘आफ्नैबारेमा छानबिन गर्न समिति बनाइसकेपछि उपप्रधान तथा गृहमन्त्री पदमा बस्न मिल्छ ? भनेर छानबिन समिति बनेपछि राजीनाको कुरा गर्नुहुन्छ ।’
रवि नैतिक र कानुनी प्रश्नको घेरामा रहँदै आएका छन् । त्यसबाहेक उनको प्रमुख दुर्बल पक्ष हो, ‘आलोचना सहनै नसक्ने ।’ उनी गैरकानुनी नागरिकता बोकेको अभियोगमा दण्डित भए । लाइनमै बसेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता बनाए । पासपोर्टमा पनि राज्यलाई ढाँटेको गम्भीर आरोप उनलाई लागेको छ । जुन टुंगिसकेको छैन ।
त्यस्तै पछिल्लो समय उनी अर्को काण्डमा फसेका छन् सहकारी । राजनीतिमा रविको प्रवेशले गगनको सबल पक्षलाई ओझेल पारेको छ । यद्यपि, सुझबुझपनामा उनी रविभन्दा उम्दा ठहरिन्छन् । ‘म चाहिँ भगवान् हुँदै होइन,’ रविप्रति कटाक्ष गर्दै सञ्चारकर्मीमाझ गगन भन्ने गर्छन्, ‘आलोचना पनि सुन्नुपर्छ । मेरो बारेमा जत्ति लेख्नु भए पनि हुन्छ ।’
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा १४ चैतमा उपस्थित भएका प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको विषयमा ठाडो उजुरीमात्रै परेको बताए । उपप्रधान एवं गृहमन्त्री रविकै सामुन्ने आईजीपी कुँवरले कुनै तथ्य प्रमाण नभएको भन्दै क्लिन चिट दिए ।
महान्यायाधिवक्ता कार्यालयले अर्को क्लिनचिट दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध अदालतमा कुनै उजुरी, मुद्दा नरहेको पत्र दिएको छ । रूपन्देही प्रहरीको अनुसन्धानले सुप्रिम सहकारीबाट रवि नाममा गोर्खा मिडिया नेटवर्कमा कर्जा प्रवाह भएको देखिएको छ । गोर्खा मिडियाका तत्कालीन सञ्चालक रविको नाममा करिब दुई करोडको कर्जा गएकोे जनाइएको छ ।
शुक्रबार रवि पनि आक्रोशित देखिए । सहकारी ठगी प्रकरणमा संलग्न रहेको प्रमाण पेस गरे राजनीति नै छोड्ने चुनौती दिए । प्रतिनिधिसभामा बोल्न अवरोध भएपछि उनले बाहिर सञ्चारकर्मीसँग भने, ‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’
रविलाई क्लिन चिट दिइएको प्रति गगनले पनि व्यंग्य गरे । उनले प्रतिवाद गर्दै जवाफ फर्काए, ‘संसदीय समितिमा आउनुस् । तथ्य पुष्टि नभए राजनीति छोड्न तयार छु । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ । कहिले महान्यायाधिवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन ।’
दूरी बढ्नु वास्तविक कि कृत्रिम ?
प्रा.डा. मीना वैद्य मल्ल, राजनीतिशास्त्री
भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । यो भनाइ अहिले युवा राजनीतिकर्मी गगन थापा र रवि लामिछानेको सन्दर्भमा पनि मिल्न पुग्छ ।
राजनीतिशास्त्रकी प्राध्यापक मीना वैद्य मल्ल राजनीतिमा शत्रुता र मित्रतामा उतारचढाव भइरहने बताउँछिन् । ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । मित्रता पनि निरन्तर भइरहँदैन,’ मल्ल भन्छिन्, ‘आफ्नो स्वार्थलाई अगाडि राख्ने क्रममा राष्ट्र र जनताप्रतिको गहन जिम्मेवारीलाई ओझेलमा राख्न पाइँदैन ।’
प्राध्यापक मल्लका अनुसार, युवा राजनीतिकर्मी गगन थापा र रवि लामिछानेले युवाहरूलाई स्वदेशमै बस्ने वातावरण बन्ने कुरामा विश्वस्त पार्न सकेका छैनन् । ‘दुवै जना केही गर्छु भन्ने अठोट बोकेर राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिमा सुधार ल्याउने र मुलुकलाई केही दिउँ भन्ने भावना पछि देखिन्छ,’ प्राध्यापक मल्ल भन्छिन्, ‘दुवै नेता विवादमा पर्दा जनता कन्फ्युजनमा परेका छन् ।’
अग्रज राजनीतिकर्मीको अनुभवबाट सिक्नुपर्छ भन्ने सोचको दुवै नेताले राख्नुपर्ने उनको सुझाव छ । ‘अहिलेको डिजिलाइज्ड विश्वमा सुझबुझ भएका युवाहरू राजनीतिमा प्रवेश हुनुपर्छ भन्ने आम अपेक्षा हो,’ मल्ल थप्छिन्, ‘युवा राजनीतिकर्मीहरू ज्येष्ठ राजनीतिकर्मीसँग संगत गर्दै अनुभव लिन चुक्नु हुँदैन । सामाजिकीकरण (सोसलाइज्ड) हुनै पर्छ । पुराना राजनीतिकर्मीको कदर (कल्चर अफ एप्रिसिएसन) हुनुपर्छ ।’
विश्लेषक प्रदीपकुमार शर्मा गगन थापा र रवि लामिछानेबीचको सम्बन्ध बिग्रनु स्वाभाविक भए पनि जनतासँग दुवै नेताको सुमधुर सम्बन्धमा ह्रास आएको बताउँछन् । ‘दुवै जनाबीचको सम्बन्ध बिग्रियो नै जनतासँगको सम्बन्ध पनि सुमधुर बनाउन सकेनन्,’ शर्मा भन्छन्, ‘जनउत्तरदायी राजनीति गर्न सकेनन् ।’
राजनीतिक चिन्तक एवं नागरिक अभियन्ता श्याम श्रेष्ठका अनुसार, गगन थापा र रवि लामिछानेले बीचको विवाद सहकारी प्रकरणमा मात्र देखिएको छ । ‘अहिले यी दुई नेताबीचको बढेको दूरी वास्तविक हो कि कृत्रिम हो ? त्यो थाहा छैन,’ राजनीतिक चिन्तक श्रेष्ठ भन्छन्, ‘यी दुई नेताबीचको विवाद राजनैतिक वा वैचारिक होइन ।’
रवि लामिछानेको चुनौती
- गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु। प्रमाण दिन सक्नुभयो भने उहाँले राजनीति छोड्नुपर्छ। यो स्वीकार गर्न तयार हो ?
- निरन्तरको खेदाइलाई कहाँबाट जवाफ दिने ? सडकबाट हुने खेदाइलाई सडक र सदनबाट हुने खेदाइलाई सदनबाट जवाफ दिने हो।
- के जनताको प्रतिनिधिले दुई महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन ?
- संसद्मा बोल्न पाउँदा लागेको आरोपमाथि बोल्थें। एकपल्ट बोल्न पाउँभन्दा बोल्न पाउँदिनँ। बोल्ने कुराले सबै कुराको सम्बोधन गथ्र्यो होला नि। उहाँहरूले मलाई किन डराएको हो ? भन्नुहुन्छ। डर कसले मान्यो ? एकपल्ट मेरो कुरा सुन्न किन डराएको ?
रविप्रति गगनको कटाक्ष
- संसदीय समितिमा आउनुस्। तथ्य पुष्टि नभए राजनीति छोड्न तयार छु। संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ। त्यहीँबाट पुष्टि गरे भइहाल्छ। कहिले महान्यायाधिवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन।
- सहकारी ठग्ने रवि लामिछाने र गृहमन्त्री रवि एउटै व्यक्ति हुन् कि होइनन् ? जाँच्ने क्षमता नेपाल प्रहरीले छैन भन्छ भने संसदीय समिति बनाएर खोज्नु पर्यो कि परेन? हामीले नखोजे कस्ले खोज्ने ?
- राज्यका तमाम अंगहरूलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो। तपाईंहरूले धोएर पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्ट्याउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।
- कानुनभन्दा माथि कोही पनि हुँदैन। जनतामा म लोकप्रिय छु भनेर कानुनभन्दा माथि हुँदैन। सरकारमा शक्तिशाली छु भनेर पनि कोही कानुनभन्दा माथि हुँदैन। कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने सत्यलाई स्थापित गर्नु पर्नेछ।