आमा
नवजात बहिनीलाई स्तनपान गराउँदै
मायाको भोको
‘आमा मेरो खुट्टो दुख्यो’
थाहा थियो म असत्य बोल्दै छु
तिमीलाई पनि थाहा थियो
छोरो असत्य बोल्दै छ
तैपनि
बहिनीलाई डाँडीमा सुताई
म असत्यवादीलाई पिठ्युँमा बोकेर
फुकाउन लिएर जान्थ्यौ।
एक दिन खुसी हुँदै भनेको थिएँ
‘आमा म फस्ट भएँ’
तिमीले सोधेकी थियौ
फस्ट भनेको के हो ?
‘मैले सबैलाई जितें’
शिरमा हात राख्दै भनेकी थियौ
‘जितेर अभिमान नगर्नू
फलेको हाँगो झैं
जित्नेले नुघ्नु पर्छ।’
तिम्रो रोदन देखेर
सोधेको थिएँ
‘तिम्रा आँखा किन भिजेका ?’
मटमैलो पछ्यौरीको टुप्पाले आँखा पुछेर
बालसुलभ मुसुक्क हाँस्दै
निःशब्द तिमी
दन्तहीन गिजा मात्र देखाउँथ्यौ
आज मेरै आँखा अविरल भिज्दा
बल्ल बोध भयो आमा !
आमा र आमाहरूका आँखा
बारम्बार किन भिजिरहन्छन्।
आफ्ना स्तन रसाउन छाडे पनि
चट्टानको छातीबाट बुटी निकालेर
घोटेको रस पिलाउँदै
गम्भीर वाणीमा कहन्थ्यौ
‘जीवन्त जीवन जिउनू
दुःखीमा दयावान् हुनू
चाकरीमा कसैको पाऊ नसमाउनू
ईष्र्यामा कसैलाई छिर्के नहान्नू
परिश्रमीका हात समाउनू
माथि उकाल्नू
बरु मृत्युसँग कहिल्यै नडराउनू
परन्तु
छलकपट र बदनामीसँग सदैव सचेत हुनू।’
एक दिन
नभमा आँधी उठ्यो
भयभीत मनमा आँधी उठ्यो
हेर्दाहेर्दै आमा !
तिम्रो पखेरु उड्दा
जगत् अँध्यारो भयो
सकियो मेरो हार्दिक संसार
जहाँ, मेरो आँसु र आशाले
मेरो भावुकता र हर्षले
टेको पाउँथ्यो।
आमा !
तिमीबिना संसार दुरुह विकट भयो
तिमीबिना धरणीको आधार निराधार भयो
बिनातिमी आत्मीय प्रेमको गुञ्जन गयो
हृदयको स्पन्दन विह्वल विकल भयो
तिमी गयौं आश्रयदाता नीड जीर्ण भयो
सम्भार गर्न कोही आएन जीवन विकीर्ण भयो।