ओलीले भने, ‘पूर्वीय दर्शन अन्धविश्वास र पाश्चात्य दर्शन चाहिँ भौतिकवादी भन्ने ठूलो भ्रम छ’
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवीहरुले नै हरेक युगलाई नयाँ युगमा परिणत गर्न संलग्न रहेको बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले बुद्धिजीवीले नै संसारको गतिलाई प्रभावित र ट्रेन सेट गरिरहेको दाबी गरे।
‘बुद्धिजीवीहरु हरेक युगलाई नयाँ युगमा परिणत गर्ने र हरेक समाजमा रहेको मौजुदा अवधारणा र चेतनालाई नयाँ धारणामा रुपान्तरित गर्न प्रेरित गर्ने र सुषुप्त समाजलाई जागृत गर्ने र समाजमा परिवर्तनका लागि घचघचाउने र मानिसलाई विचारमा एकताबद्ध हुन बाटो दिने बुद्धिजीवीले नै हो।’ ओलीले भने,‘इतिहासका कुरालाई हेर्यो भने ज्ञात र अज्ञात बुद्धिजीवीले नै सुरुवात गरेका छन्।’
उनले ज्ञान र मिथलाई यथार्थ र फिक्सनलाई छुट्याएर हेर्न सक्नुपर्ने बताए। ओलीले भने,‘एउटा भ्रम छ ठूलो - पूर्वीय दर्शन भनेको चाहिँ अन्धविश्वास चल्ने, तथ्य-प्रमाण नखोज्ने। पाश्चात्य दर्शन भनेको चाहिँ भौतिकवादी,यथार्थमा चल्ने भन्ने ठूलो भ्रम छ। हाम्रा पूर्खाहरुले यथार्थ जे हो त्यसैलाई दर्शन भन्थे। प्रकृति जस्तो छ त्यसरी बुझ्नु दर्शन थियो।’