नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसको माग जायज हो, सरकार र सभामुख गम्भीर बन्नुपर्छ
काठमाडौं : नेकपा एकीकृत समाजवादी (नेकपा एस) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेस हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ। पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेस गरेका थिए।
बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारुप प्रस्ताव प्रस्तुत गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए। स्थायी कमिटी बैठकमा साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए। अन्य सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए।
उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे। संसदमा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसदको अवरोध हटाउनका लागि सरकार र सभामुख गम्भीर बन्नुपर्ने बताए।
स्थायी कमिटी बैठक लम्बिएपछि पोलिटब्युरो बैठक वैशाख ३१ र जेष्ठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ।