गाईको सम्पत्तिमा राजनीतिकर्मीको रजाइँ
गौशाला (महोत्तरी) : मुलुकमै सबैभन्दा पुरानो गाई गोठको रूपले चिनिने निगौल गाई गौशाला अहिले राजनीतिक चपेटामा परेको छ । जसका कारण यी संस्था पछिल्लो समयमा आएर धरासायी बनेको छ । राजनीतिकर्मीले प्रत्यक्षरूपमा हावी भएकै कारण संस्थाको अधीनमा रहेको जग्गाहरू क्रमिक रूपमा अतिक्रमित भएको छ ।
विभिन्न समयमा गरी यस संस्थाको मातहतमा रहेको २४ बिघा जग्गा अतिक्रमितको चपेटामा परेको कार्यालय स्रोतले जनाएको छ । आफूलाई समाजसेवी कहलाउने यस्ता नेता कार्यकर्ताहरूले संरक्षणको पूर्णग्यारेन्टी लिएकै कारण यस संस्थाको जग्गा अतिक्रमित भएको निमित कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताए । उनले भने, भोट बैंक स्थापित गर्न यहाँका जग्गा उनीहरूले प्रयोग गर्दै आएका छन् ।
चुनावको समयमा जनतासमक्ष गरिएको वाचा पूरा गर्नका लागि यस संस्थाको जग्गालाई अवैधानिक तवरले विभिन्न सार्वजनिक संरचनाको नाम दिई अतिक्रमण गरिएको छ । उल्लिखित जग्गाहरूमा सामाजिक संरचनाको निर्माण भए तापनि सो जग्गा उपभोगका लागि यस कार्यालयसँग कुनै किसिमको सहमतिको रेकर्ड नरहेको चौधरीले बताए । उनले भने, ती जग्गाहरूमा निर्मित संरचनाले स्थानीयलाई प्रत्यक्ष रूपमा फाइदा पुगेकै हो । तर, यसमा कानुनी प्रक्रिया भने पुगेको छैन ।
गौशाला पशुहाटबजार सञ्चालनका लागि तत्कालीन समयमा गौशाला गाविससँग भएको सहमति पछिल्लो समयमा आएर पालना नभएको अवस्था रहेको छ । तत्कालीन गाविसको कार्यालयसँग २५ प्रतिशत ठेक्का पाउने शर्तमा आपसी सहमतिअनुसार निगौल गाई गौशालाले जग्गा बजार उपयोगका लागि दिइएको थियो । लामो वर्षसम्म ती सहमतिको पालना भयो । तर, स्थानीय सरकार आएपछि ती सहमतिलाई लत्याइएको छ । अहिले रकम बुझाउनका लागि विभिन्न वहानावाजी गर्दै आएको छ । जनप्रतिनिधिसँग अनेकौपटक गरिएको वार्ताले कुनै निष्कर्ष निस्कन सकेको छैन । कार्यालय अहिले बाध्य भई मुखदर्शक भए छ ।
वि.सं. १९८३ सालमा तत्कालीन भारतका दरभंगा महाराज व्रह्मदेव ठाकुरले गौ पालनका लागि यहाँ गौशालाको स्थापना गरिएको थियो । गौशालालाई संरक्षण अनि व्यवस्थापनका निम्ति संस्थाका नाममा यहाँ २ सय बिघा जग्गादान गरेका थिए । पछि गाईपालनका लागि आधुनिक जातिका १५ सयवटा गाई नेपाल सरकारमार्फत यस संस्थालाई हस्तान्तरण गरिएपछि यहाँ नेपालकै सबैभन्दा पुरानो गाई गोठको स्थापना भएको स्थानीय जानकारवालाहरूको भनाइ छ ।
यस ऐतिहासिक गौशाला जोगाउनभन्दा पनि मास्नमा लाग्ने धेरै संख्यामा लागिपरेका छन् । तीनै तहका सरकार भए पनि यस ऐतिहासिक गाई गौशालालाई संरक्षण गर्न सकेको छैन । गौशालाजस्तो सक्षम अनि ऐतिहासिक सम्पदा भएको कार्यालयलाई जर्जर अवस्थामा पुर्याउने नापी, मालपोत र गौशालाकै कर्मचारीहरू छन् । उनीहरू लोभ लाभमा फसी यस संस्थाललाई दुर्दशामा पुर्याएका हुन् ।
मिलेमतो नभई आफैं कुनै पनि हालतमा जग्गा अतिक्रमण हुँदैन, सरकारी जग्गा व्यक्तिका नाममा पुग्दैन न नबताउने शर्तमा ती कार्यालयका एक कर्मचारीले बताए । विभिन्न समय र बहानामा हुने बारम्बारको अतिक्रमणले यहाँ रहेका गाईहरू अब सडकमा पुग्ने अवस्था आइसकेको छ । यो यस क्षेत्रका लागि मात्रै होइन मुलुककै लागि लाजमर्दाे विषय ती कर्मचारीले भने । गौशालाको नाममा रहेको १ सय ४८ बिघा जग्गामध्ये झन्डै ५० बिघा जग्गा अतिक्रमण भइसकेको छ । अतिक्रमित जग्गामा अहिले थुप्रै घर ठडिएका छन् ।
अतिक्रमण रोक्न राजनीतिक तहबाटै पहल हुनपर्नेमा उल्टै अतिक्रमण गर्नेहरू नै राजनीतिक क्षेत्रबाट संरक्षित भएका स्थानीयवासी बताउँछन् । बाँकी रहेका जग्गामध्ये १० विगाहामा आधुनिक भौतिक पूर्वाधारसहित गाई गोठ, २७ बिघामा ३ वटा पोखरी, फूलबारी र करिब ५६ विगाहा जग्गा खेतीयोग्य जमिनमा गाईवस्तुका लागि मौसमी घाँस उत्पादन गर्दै आएको छ ।