कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि विश्वासको मत लिने
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (सोमबार) प्रदेशसभा (संसद)बाट विश्वासको मत लिने भएका छन्।
नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतलाई एमालेका ३९ सहित नेकपा (माओवादी केन्द्र)का १३ जना प्रदेशसभा सदस्य (प्रदेश सांसद)को समर्थन छ। एक जनामात्रै सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ। हिक्मतले मुख्यमन्त्रीमा दाबी पेस गर्दा जसपाले साथ दिएको थिएन।
मन्त्रिपरिषदको सिफारिसका आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबारका लागि प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका थिए। बजेट अधिवेशनको पहिलो बैठकबाटै मुख्यमन्त्री हिक्मतले विश्वासको मत लिने भएका हुन्। विश्वासको मत लिने सम्बन्धी सूचना शुक्रबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।
हिक्मत संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री बन्नका लागि उनलाई एमाले र माओवादीका ५२ जना सांसदले समर्थन गरेका थिए। अहिले जसपाले पनि समर्थन गरेको छ।
कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद छन्।
निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले संकल्प प्रस्तावको निर्देशनविपरीत सदनबाट विश्वासको मत लिएनन्। पदबाट राजीनामा पनि दिएनन्। केदार अल्पमतमा परेको ठहर गर्दै बहुमत देखाएर हिक्मतकुमार कार्कीले गरेको दाबी बमोजिम उनलाई नै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि अघि बढाएको प्रक्रिया र हिक्मतको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन्।
सर्वोच्चले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै केदारले माग गरे बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिटको पूर्ण सुनुवाइका लागि जेठ ९ गतेलाई पेशी तोकिएको छ।
यता केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। समाजवादीको प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले हिक्मतविरुद्धको मुद्ध सर्वोच्चमा विधाराधीन रहेकाले विश्वासको मत नदिने बताए।
मुद्दा चलिरहेका बेला विश्वासको मत लिन खोज्नु गलत भएको उनको भनाइ छ । संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन सकिने भए पनि मुख्यमन्त्रीले हतारहतार विश्वासको मत लिन खोजेको राजेन्द्र बताउँछन्। उनले एकीकृत समाजवादीका सांसदले विश्वासको मत नदिने बताए। सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने कुरा पछि यकिन हुने राजेन्द्रको भनाइ छ।
कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छैन। कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मतका सम्बन्धमा सोमबार बिहान बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताए।
राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगो गरिसकेको छैन। सत्ता गठबन्धनमा सामेल नभएकाले राप्रपाले मत नदिने सम्भावना बढी छ। यद्यपि, सोमबार बिहान बस्ने दलको बैठकले त्यस सम्बन्धमा निर्णय लिने राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए। यसअघि हिक्मत नेतृत्वको सरकारमा सहभागी राप्रपाले सरकार जोगाउन अन्तिमसम्म सहयोग गरेको थियो।
जसपाकी एक्ली सांसद निर्मला लिम्बू भने विश्वासको मत दिने बताउँछिन्। सरकारलाई समर्थन गरिसकेका कारण विश्वासको मत दिने उनको भनाइ छ।