संसदीय उपसमितिले गर्यो मेलम्चीको अनुगमन, विस्तृत अध्ययन नगरी हेडवक्र्स नसार्न सुझाव
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाले बाह्रै महिना पानी पठाउन सुरक्षित स्थानमा हेडवक्र्स सार्नुपर्ने बताईरहँदा संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको खानेपानी उपसमितिले आयोजनाको अनुगमन गरेको छ।
उपसमिति संयोजक प्रतिनिधिसभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवक्र्स लगायत अन्य संरचनाको स्थलगत निरीक्षण गरेको हो। संयोजक माझीका अनुसार समितिले २०७८ साल असार १ गतेको बाढीका कारण ध्वस्त भएको हेडवक्र्स क्षेत्र, अस्थायी टनेलमार्फत पानी पथान्तरण गरिएको अवस्था र पछिल्लो अवधिमा हेडवक्र्स स्थानान्तरण गर्नुपर्ने भनि विभिन्न निकायबाट सुझाव दिइएको आधारमा हेडवक्र्स स्थानान्तरण गर्ने भनिएको क्षेत्रको निरीक्षण गरिएको हो।
स्थलगत निरीक्षण गरेको टोलीले आयोजनालाई सुझाव पनि दिएको छ। अहिलेको अवस्थामा हेडवक्र्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवक्र्सलाई पुनः सञ्चालनमा ल्याउन थप उपायको खोजी गर्नु उचित हुने सुझाव दिएको सांसद माझीले बताइन्। ‘बाह्रै महिना काठमाडौंमा पानी पठाउन सक्ने अवस्था नरहेको, आयोजनाको लागत खर्च बढिरहेको, लार्के र याङ्ग्रीको पानी तत्काल आउने सम्भावना पनि नदेखिएको अवस्थामा झन् आर्थिकभार बहन गर्नुपर्ने गरी हेडवक्र्स सार्न आवश्यक नरहेको देखिन्छ’, माझीले भनिन्, ‘विस्तृत अध्ययन नगरी तत्काल हेडवक्र्स सार्ने निर्णयमा नपुग्न हामीले आयोजनालाई सुझाव दिएका छौं।’
निरीक्षणमा आएका उपसमितिको टोलीलाई मेलम्ची खानेपानी आयोजना प्रमुख रत्न लामिछानेले पहिलेको मूख्य द्वार र संरचना रहेको हेडवक्र्सलाई सञ्चालन गर्दा जोखिम कायम हुने भएकाले नौ सय मिटरमाथिको सहज स्थानबाट मुहान बनाई सुरुङमार्फत मूल टनेलमा पानी पुर्याउनुपर्ने बताए। ‘हामीले यहाँको वस्तुगत अवस्थाको बारे सरकारलाई पटक पटक जानकारी गराईरहेका छौं’, उनले भने, ‘अहिले विकल्पका रूपमा रहेको हेडवक्र्सबाट काम चलाउ मात्रै पानी पठाइरहेको छौं। बाह्रै महिना पानी पठाउन सुरक्षित स्थानमा हेडवक्र्स सार्नुपर्छ। त्यसका लागि सरकारले निर्णय गर्न जरुरी छ।’
अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी पठाइरहेको भएपनि हेडवक्र्सको स्थानान्तरण नगर्ने हो भने बर्खामा पानी जान नसक्ने आयोजनाले जनाएको छ। ३२ अर्ब खर्च भइसकेको आयोजनाको २७ किलोमिटर लामो सुरुङमा बाढीले पु¥याउन सक्ने जोखिमलाई हेरेर वर्षायाममा मेलम्ची पानी पठाउन नमिल्ने अयोजनाको धारणा छ।
‘वर्षामा अस्थायी हेडवक्र्समा क्षति पुग्ने भएका कारण स्थायी नबनाएसम्म ठूलो वर्षाको अनुमान हुने बित्तिकै सुरुङ बन्द गर्नुपर्छ,’ मेलम्ची खानेपानी आयोजना प्रवक्ता राजेन्द्र पन्तले भने, ‘सरकारले हेडवक्र्स स्थानान्तरणको निर्णय अहिलेसम्म नगरेकोले वर्षामा पानी पठान्तरणको सम्भावना देखिँदैन।’
सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो। तर, कार्यान्वयन भने नगरेको आयोजनाले जनाएको छ। आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने र आयोजना स्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले त्यसलाई सवलिकरण गर्नुपर्नेमा आयोजनाको जोड छ।
२०७८ असार १ गतेको बाढीले निर्माण सकिएको पानी छान्ने संयन्त्रसहित पक्की हेडवक्र्स पुरेपछि वर्षैपिच्छे वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलाको पानी सोझै सुरुङमा हालेर काठमाडौं लैजाने गरिएको छ। हेडवक्र्स नै स्थायीरूपमा निर्माण गर्न नसक्ने भएपछि बाह्रै महिना मेलम्ची पानी लैजान सम्भव नहुने आयोजनाको भनाइ छ।