सहकारी ठगी प्रकरण
लामिछानेप्रति आक्रमक बन्दै कांग्रेस, समिति गठनबारे संसदीय दलको बैठकमा आज पनि छलफल हुने
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। सरकार संसद् पनि चल्न नदिने र छानबिन समिति पनि नबनाउन उद्दत रहेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ। सभामुखले गृह मन्त्रालय र लामिछानेमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा बोल्न समय दिँदा वेलमा पुगेपछि कांग्रेसले रोस्टम् घेराउ गरेर बोल्न समेत दिएको छैन। तर महामन्त्री थापाले सदनमा गृहमन्त्रीको जवाफ सुन्नका लागी आफूहरु तयार रहेपनि सभामुखले जबरजस्ती कार्यसूचीमा प्रवेश गरेका कारण रोष्टम घेराउ गर्नुपरेको दाबी छ। कांग्रेसले सरकारको रवैयामा सभामुखले पनि गतिरोध अन्त्य गर्न कुनै पहल नगरेको ठहर गरेको छ।
थापाका अनुसार सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सोमबारको बैठकमा छलफल हुनेछ। कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताभएकाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान यथावत् राखेको छ। देशभरका सहकारीमा समस्या रहेकाले समग्र छानबिन समिति/आयोग बनाउन सकिने तर व्यक्ति केन्द्रित समिति गठनमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेद कायमै हुँदा संसद्को गतिरोध अन्त्य हुन सकेको छैन।
कांग्रेसले संसद् नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन्। जेठ १ गते ३ बजे सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। केहि सांसद आउँदा राष्ट्रपति आउँदा अवरोध गर्न नहुने पक्षमा छन् भने, शीर्ष नेताहरु राष्ट्रपतिबाट आउने नीति तथा कार्यक्रम सरकारकै हुने भएकाले अवरोध गर्दा फरक नपर्ने मत राखिरहेका छन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम बाचन हुने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। यो विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्दैछ।