प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता दीपक कार्कीले जानकारी दिए।
सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि सोमबार बिहान राजीनामा दिएका छन्। सरकारमै रहेर वर्तमान सत्ता गठबन्धनका दलसँग सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जसपा नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले अन्नपूर्णलाई जानकारी दिए।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्न लागिएको छ।
वर्तमान सत्ता गठनबन्धनसँग सहकार्य गर्न कठिन भएकाले राजीनामा दिएको जसपा नेपालका अध्यक्ष यादवले बताए। सोमबार राजीनामा दिएपछि अन्नपूर्ण पोस्ट्सँग उनले एमाले-माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्न कठिन भएकाले आफूले राजीनामा दिएको जानकारी दिए।
जसपा नेपालका अध्यक्ष यादवले भने,‘जसपा नेपाल फुटाउन वर्तमान सत्ता गठबन्धनका प्रमुख दलको हात छ, एमाले-माओवादीको कार्यशैली प्रति मेरो विमत्ति छ, उनीहरुसँग सहकार्य गर्न असहज भएकाले मैले राजीनामा दिएको हुँ।’