जसपा नेपालले निर्वाचन आयोगविरुद्ध आज मुद्दा दायर गर्दै
काठमाडौं : कानुन विपरीत जसपाले दलको मान्यता पाएको भन्दै जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्ने भएको छ। गत आइतबार जसपा नेपालबाट वरिष्ठ नेता अशोक राईले ७ सांसद लिएर विद्रोह गर्दै जनता समाजवादी पार्टी गठन गरेका थिए। जसपा नेपालबाट अलग्गिएर जसपा गठन गरेपछि राई पक्षलाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ ।
उक्त त्यो मान्यता कानुन विपरीत रहेको भन्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको जसपा नेपालका नेता दीपक कार्कीले जानकारी दिए।
सोमबार बिहान जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा यादवले लेखेका छन्,‘विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु।’