कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले मागे विश्वासको मत
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । केहीबेरअघि सुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागेका हुन् । उनी प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो मुख्यमन्त्री हुन् । उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
यता बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेसबिना नै बैठक बसेको हो । मुख्यमन्त्रीविरुद्धको मुद्दा सर्वोच्चमा बिचाराधीन रहेको भन्दै कांग्रेस संसद बैठकमा अनुपस्थित भएको हो । सभामुखलाई पत्र लेखेर नै अनुपस्थित भएको सांसद भीम पराजुलीले बताए ।
कोशीको ९३ सदस्यीय संसदमा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेको उपसभामुखसहित ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (सभामुखसहित) का ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ जना सांसद छन् ।