मन्त्री बन्न जसपाले पठायो ३ जनाको नाम, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्ने ३ जनाको नाम सिफारिस गरेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादव सरकारबाट बाहिरिएलगत्तै जसपाले ३ जनाको नाम सिफारिस गरेको हो।
जसपाका एक पदाधिकारीका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम मन्त्रीका लागि सिफारिस गरिएको हो। उपेन्द्र यादवको ठाउँमा प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्।
त्यस्तै हसिना खान राज्यमन्त्री र रञ्जु झा बिना विभागीय मन्त्री बन्ने ती पदाधिकारीको भनाइ छ। मन्त्रालय खाली गराएर रञ्जुलाई जिम्मेवारी थमाउने प्रधानमन्त्री पुष्पकमल दाहालले आश्वासन दिएका छन्।
प्रधानमन्त्री दाहाल चितवनबाट फर्किएलगत्तै उनीहरूको सपथग्रहण हुने बताइएको छ। गठबन्धन भत्काउने चलखेल गरेको भन्दै अशोक राईको नेतृत्वको जसपा गठन गरेको थियो। राईको पक्षमा ७ जना सांसद छन्।