आजबाट काठमाडौंमा अखिलको ‘विद्यार्थी महोत्सव’
शिक्षा प्रणाली सुधारको विषयमा सामुहिक छलफल हुने
काठमाडौं : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आजदेखि काठमाडौंमा ‘विद्यार्थी महोत्सव’ को आयोजना गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यतालिका छ।
विद्यार्थीलाई स्वदेशमै पढेर केही गर्न सकिन्छ भन्ने जानकारी गराउन महोत्सव गर्न थालिएको अनेरास्ववियुका अध्यक्ष समिक वडालले जानकारी दिए।
युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रयत्न गर्ने उनको भनाई छ।अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के के आवश्यक छ भनेर सुझाव दिने बताए।
यस्तै विद्यार्थी महोत्सवमा सामूहिक छलफल समेत हुनेछ। विद्यार्थी आन्दोलनको छ दशक र अवको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ?, कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थराजनीतिक आयाम लगायतका विषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने छ।
विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसंग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई सरकार र सम्बन्धित निकायलाई सुझाव दिने अध्यक्ष बडालले बताए ।
नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो कार्यक्रम सबैभन्दा ठूलो शैक्षिक महोत्सव हुने अखिलको दाबी छ। महोत्सवमा प्रत्यक्ष परियोजनाहरू, लाइभ म्युजिक, करियर काउन्सिलिङ, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, .फुड स्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ।
‘विद्यार्थी महोत्सव’बाट विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको अखिलको दाबी छ। महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको छ।