बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्न जसपा नेपालको बैठक बस्दै
काठमाडौं : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आज बिहान ११ बजे ललितपुरमा आगामी जेठ २८ गतेदेखि हुने महाधिवेशनको एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको राजनीतिक समिति सदस्य दीपक कार्कीले जानकारी दिए।
जसपाले आफ्नो पक्षमा बहुमत केन्द्रिय सदस्य रहेको दाबी गर्नसमेत बैठक बोलाएको हो। जसपा नेपालका ३६८ जना केन्द्रिय सदस्य थिए। पार्टी विभाजन भएपछिको समीक्षा गर्न सोमबार पनि जसपा नेपालको केन्द्रीय समिति बैठक बसेको थियो। आजको बैठकमा नेताहरूले धारणा राख्ने कार्कीले बताए।
अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको असन्तुष्ट जनाएर जसपा नेपालबाट विद्रोह गर्दै ८ सांसदसहित अशोक राईको नेतृत्वमा जसपा पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।
राजनीतिक समिति सदस्य सीपी सिंहका अनुसार जसपा नेपालमा १८ जना कार्यकारिणी समितिमध्ये १० जना र केन्द्रिय सदस्यको पनि बहुमत आफ्नो पक्षमा रहेको दाबी गरेका छन्।
जसपा नेपालका अध्यक्ष यादवले मन्त्रीबाट राजीनामा दिएपश्चात सोमबार नै नवगठित जसपाका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान राज्यमन्त्री बनिसकेका छन्।