संसद् बैठक प्रभावित हुँदा संवैधानिक संकटको अवस्था नआओस् : सभामुख
काठमाडौं : सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदका बिजनेस प्रभावित भएको बताएका छन्। मंगलबार प्रमुख दलका मुख्यसचेतक र सचेतकहरूको छलफलमा सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल,आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताएका हुन्। 'राजनीतिक दलहरूबीच सहमति नहुँदा संसदको बिजनेश प्रभावित भएको छ। यो राम्रो होइन,'उनले भने,' संवैधानिक संकट हुने अवस्था नआओस् ।’
सभामुखले आज दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठक र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए। उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी गराएका थिए। सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा प्रतिपक्षले उठाएको विषयको जवाफ दिन पाउनुपर्ने बताएका छन्। बैठकमा परियारले कांग्रेसले गृहमन्त्रीलाई संसद्मा बोल्न रोक्न नहुने धारणा राखेका छन्।
‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो । बोल्न पाउनुभएको छैन । आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ । गृहमन्त्रीले बोल्न पाउनुपर्छ , ’उनले भने,‘धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ ।’
यता कांग्रेसकी सचेतक सुशीला थिङले नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहने जानकारी गराइन् । उनले भनिन्,‘छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।’