इ-नेट पेमेन्टको अनुमतिपत्र खारेज
काठमाडौं : नेपाल राष्ट्र बैंकले इ-नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। संस्थाले निर्देशनको परिपालना नगरेको देखिएपछि केन्द्रीय बैंकले प्रतिबन्ध लगाएको हो। केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार सूचना जारी गर्दै कम्पनीको सञ्चालनमा रोक र अनुमतिपत्र नै खारेज गरिएको जनाएको छ।
संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि लागू हुनेगरी अनुमतिपत्र खारेज गरिएको सूचनामा उल्लेख छ। यसअनुसार अब जेठ ३१ गतेदेखि सो संस्था बन्द गर्नुपर्नेछ।
केन्द्रीय बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न उक्त संस्थाले २०७६ फागुन २१ मा अनुमतिपत्र पाएको थियो। ‘निर्देशनको परिपालना नगरेको देखिएकाले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको हो ।’
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए ३० दिन (जेठ १ गतेदेखि ३० गतेसम्म)भित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।