सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
आन्तरिक तथा बाह्य लगानी भित्र्याउन थप कानुनी व्यवस्था गरिने
काठमाडौं : सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन थप कानुनी व्यवस्था गर्ने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य लगानीको वातावरण सुधार र क्षेत्र विस्तार गर्न थप कानुनी तथा संरचनागत व्यवस्था गरिने जानकारी गराएका हुन्।
उनले नीजि पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्धसहित विकास वित्तका नविनतम उपकरण तथा परिचालन गरिने बताए। विश्वव्यापीरुपमा प्रचलनमा रहेका ऋण तथा अन्य विदेशी लगानी भित्र्याउन सहजीकरण गरिने बताउँदै उनले आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने बताए।
डिजिटल प्रणालीलाई कार्यान्वयनमा ल्याइ स्वदेश तथा विदेशी लगानी स्वीकृत प्रक्रियालाई सहज र सरल र अनुमानयोग्य बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। सहकारी संस्थाको स्थापनाको उद्देश्यअनुरुप संचालन हुनुपर्ने व्यवस्था गरिने र सहकारी नीतिलाई समायानूकूल बनाइने र सहकारी बचत तथा लगानीको सुरक्षा गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
्