नीति तथा कार्यक्रममा सहयोग गर्यौं, माग पूरा नभएसम्म संसद चल्न दिँदैनौं : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि संसदीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने बताएको छ।
सरकारको नीति तथा कार्यक्रमपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै पनि सरकारी कार्यसूचीमा प्रवेश गर्न नदिने स्पष्ट पारे। नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने आवश्वासन दिएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिइएको बताए।
'प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम सम्बोधन गर्न दिनुस्। छानबिन समिति हामी बनाउँछौं भन्नुभएको थियो। संसदीय छानबिन समिति नबनेसम्म हामी कुनै सरकारी कार्यसूचीमा प्रवेश गर्दैनौं। संसद अवरुद्ध पार्छौं,' उनले भने।
प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम नरहेको बताए। उनले विश्वमै चुलिँदै गएको आर्थिक मन्दीका विषयमा केही ठोस कुरा नभएको बताए। 'नीति तथा कार्यक्रममा महत्वपूर्ण कुरा छुटेका छन्। सबै पुराना कुराहरू मात्रै आएको देखियो। आर्थिक मन्दीका विषयमा केही समेटिएको छैन। यसले नेपालको अर्थतन्त्रमा सुधार हुने देखिँदैन,' उनले भने।
उनले सहकारीको अर्बौं रकम अपचलन गरिए पनि सरकारले बचतकर्ताको रकम फिर्ता गर्ने विषयमा केही नबोलेको बताए। उल्टै सहकारी ठगलाई संरक्षण गरेको उनको आरोप छ। 'नीति तथा कार्यक्रममा सहकारी ठगीका विषयमा केही बोलिएको छैन। आम मानिसको अर्बौ रकम अपचलन भएको छ। उनीहरूको मार्कालाई सम्बोधन गर्नुको साटो उल्टै ठग्नेलाई संरक्षण गरिएको छ। सरकार सहकारी पीडितप्रति गैरजिम्मेवार देखियो,' उनले भने।