संसदमा कांग्रेसको नाराबाजी, जेठ ३ गतेसम्म बैठक स्थगित
काठमाडौं : नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको हो।
सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार अगाडि बढेपछि कांग्रेस सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। उनीहरूले सहकारी ठगीलाई कारबाही गर, संसदीय छानबिन समिति बनाउ, जबर्जस्ती गर्न पाइँदैन भन्दै नाराबाजी गरे।
सभामुख घिमिरेले धेरै महत्वपूर्ण पत्रहरू पढ्नुपर्ने र विधेयकहरू अगाडि बढाउनुपर्ने भन्दै सदन सञ्चालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि धन्यवाद ज्ञापन गर्नुपर्ने व्यवस्था रहेकाले सदन सञ्चालन गर्न पटक-पटक आग्रह गरेका थिए।
कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै बैठक स्थगित गरेका थिए। अर्को बैठक जेठ ३ गते विहान ११ बजे बस्ने सभामुख घिमिरेले बताए।