५ सय २० महिलाले लिए स्वास्थ्य शिविरबाट सेवा
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा ५ सय २० जना महिलाले सेवा लिएका छन्।
शिविरमा २ सय १० जनाको आङ खस्ने रोगको समस्या देखिएको, २० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको, १४ जनाको रिङपेशरी राखेर उपचार गरिएको, ३ सय १० जनाको पाठेघरको मुखको जाँच गरिएकोमा १६ जनाको मुखको क्यान्सरको लक्षण भेटिएको र १ सय ५० जनामा पाठेघरमा संक्रमण भएको पाइएको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिइन्।
शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार, रिङपेशरीको परामर्श र अप्रेशन सुविधा, स्त्रीरोग सम्बन्धी परीक्षण, पाठेघरको मुखको परीक्षण र परामर्श, निःशुल्क पाठेघरको अप्रेशन सेवा प्रदान गरिएको थियो।
मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा सामुदायिक स्वास्थ्य परीक्षण नेपालका निर्देशक महादेव बानियाँले पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर भएका बिरामीको पहिचान र उपचार शिविरको मुख्य उद्देश्य रहेको बताए। उनले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिए।