एसको केन्द्रीय कमिटीको बैठक आज पनि, महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि छलफल जारी
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्न लागेको हो। राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि मंगलबारबाट छलफल जारी रहेको छ।
पार्टीले आगामी असारमा काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ। बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदनमा सामुहिक छलफल गर्न १२ समूह बनाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले गठबन्धन लम्बाउन नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका छन्। पेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकाल्ने षडयन्त्रसम्म भएको अध्यक्ष नेपालले बताए। उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा राखे। उनले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सबै विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरे।
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।
समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन्।
विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ। कायम रहेको ७० वर्षीय उमेर हद हटाउने भनिएको छ।
साङ्गठनिक दस्तावेजमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख गरिएका छन्।
समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।