पानीसपना : दस लाख पोखरी
सधैं कति नेता, राजनीति, पैसा, उपद्रव, आदिमात्रको कुरा गर्नु ? आज पानीसपनाको कुरा गरौं।
सधैं कति नेता, राजनीति, पैसा, उपद्रव, आदिमात्रको कुरा गर्नु (आज ‘समथिङ क्रेजी’ हो कि जस्तो लाग्ने एउटा पानीसपनाको कुरा गरौं। तर कुरा फेरि राष्ट्रकै छ (राष्ट्रप्रेमी जो परियो) कुरा नि, केही ससाना कामहरूले पनि राष्ट्रलाई धेरथोर परिवर्तन गर्ने सम्भावना राख्छन् होइन र ? एउटा ठूलो भिजनसँग जोडिएर ससाना कामहरू टन्न गरौं न बरु ? यस्तै विचारले खोज्दा भेटिएको, त्यस्तरी डटेर काम गर्न सकिने र नतिजा ल्याउन पनि सकिने, नेपाल सुहाउँदो एउटा क्षेत्र जलवायु परिवर्तन पनि हो। प्रकृतिसँग जोडिएर काम गर्न सकिने जलवायु परिवर्तनको क्षेत्र हाम्रो लागि लाभदायक, सम्भाव्यता भएको, र कीर्तिपूर्ण छ।
पूरा विश्व जलवायु परिवर्तनको असरसँग जुधिरहेको बेला विश्वको चासो र स्रोत (लगानी) सहयोगलाई आकर्षित गर्न हामीले गर्न सक्ने धेरै अभ्यासहरू छन् भन्ने यो लेखकलाई पूरा विश्वास छ। तर ‘फायर फाइटिङ’ मात्रले अल्मल्याएको हामीलाई नवीनता र प्रयोग परीक्षणमा छिर्न ऊर्जा र साहसको व्यापक कमी छ। ‘समग्रतामा’ सोच्न सक्ने सीप र साहस नहुन्जेल, हामी नियमित र यसैउसै पनि कायम रहने गतिमा मात्र हिँडिरहने पक्का प्रायः छ। त्यो साहस प्रज्ज्वलित गराउन विचारको काँटीले नेपाली धुलो लागेको चेतनालाई कोट्ट्याइरहनु पर्छ।
विषय प्रवेशमा गर्दै यसो सन्दर्भतिर लागौं। एक समय थियो, तीन दशक जतिअघि, भक्तपुरमा हुर्केको यो लेखकले आधा घण्टा हिँडेपछि र आधा घण्टाको पर्खाइपछि मात्र एक गाग्री पानी घर ल्याउन पाउथ्यो। त्यस्तो डरलाग्दो समय त अब भूत भइसकेको होला, कम्तीमा भक्तपुरजस्ता ठाउँका लागि, तर यो अन्त छैन र यहाँ पनि फेरि नफर्केला भन्नेमा यो लेखक ढुक्क भने छैन। बस्ती, सडक र सहरीकरणको लोभ र लतमा हामी जंगल, मूल—मुहान, जडीबुटी, पाटीपौवा, चराचुरुंगी, वन्यजन्तुप्रति ज्यादै असहिष्णु बनेका छौं जस्तो लाग्छ। काफल पाकेको खबर दिन आजकल यो लेखकको बारीमा कोइली आउदिनन्, भ्यागुता पनि पैलाजस्तो गिज्याउँदैनन्। किरा खासै कराउँदैनन्, चेइचेइ बोलाउँदा कुकुर आउँदैनन्, सल्लाघारी पातलो भयो। सल्लो ठूलो सुसाउँदैनन्। चौतारीमा सुगा आउँदैन।
लाग्छ, मानिसबाहेकका पुराना साथी छिमेकी बेस्सरी रिसाएका छन्, चित्त दुःखाएका छन्। प्रेम र सम्बन्ध त हाम्रो उनीहरूसँगको पनि हो नि ? हामी किन निष्ठुरी ? कतै ‘अनुदार—आधुनिकता’ र ‘मोबाइलशीलता’ बाट संक्रमित हामी प्रकृति, यथार्थ, सामाजिक सम्बन्धन र स्वास प्रामाणिकताबाट धेरै नै टाढा जाँदै नै त छैनौं ?। खैर, कुनै पनि कुरालाई उल्ट्याउन सकिँदैन तर विवेकशील भएको नाताले अलिकति पनि ‘त्यो पुरानो प्यारो’ पुनः प्राप्त गर्न के गर्न सकिन्छ भन्ने सोच्नु चै पर्छ होला।
भिजन र कालीगढी सक्षम होस्, पानीसपना विश्व आकर्षण बन्ने नै छ। पानीसपना पटक्कै महँगो छैन, यस्ले इच्छाशक्ति मात्र खोज्छ। हामीले राष्ट्रियस्तरमा यस्ता पहलहरू सुरु किन नगर्ने ?
यति पृष्ठभूमिले पुग्यो होला। हामी मूलकुराभन्दा पृष्ठभूमि बढी तन्काउँछौं। मैंले पनि शायद त्यसै गरें। अब पानीसपनातिर लागौं। पानीको महिमा मैले भट्ट्याइरहनु नपर्ला। सिन्धलगायतको सभ्यताको मुख्य मापदण्ड नै बनेको पानी। आज पनि हाम्रो शरीरको ६० प्रतिशतभन्दा बढी घटक बनेको पानी। राजनीति, अर्थनीति, मानवविज्ञान सबैको पहिलो चासो, पानी नुहाउने, पिउने, खाना पकाउने, कृषि, उद्योग र बिजुली सबैलाई नभई नहुने पानी। जब यस्तो महŒवपूर्ण छ पानी, यसलाई माया गर्न किन आनाकानी ? जय पानी !
यो लेखकलाई कल्पनामा पनि एउटा सपना आयो पानीसपना। एउटा सपना जहाँ लेखक एक नेपाली नागरिकको हैसियतमा (ग्रेटा थनवर्गभन्दा विशिष्ट फोरममा) नेपालले विकसित गरेको पोखरीको प्रोटोटाइपको बारेमा संयुक्त राष्ट्रसंघमा भाषण दिइरहेको छ। लेखक नेपालले दस लाख पोखरीको निर्माणको रेकर्ड बनाउने मिसन बनाएको बताइरहेको छ, जसमध्ये नौ लाख सकिएको घोषणा गरिरहेको छ। पोखरीहरू साना, मध्यम र ठूला भएको र तिनीहरूलाई विशेष रूपमा हिमाल, पहाड, तराईमा आधारित अनुकूलित डिजाइन बनाइएको भनिरहेछ। ऊ थपिरहेछ हरेक पोखरी स्थानीय विशेषताले गर्दा अद्वितीय छ र त्यहाँ पानीभित्र के जैविक विविधता स्थापना गर्न सकिन्छ, वरपर के के बिरुवाहरू हुनेछन्, र तिनीहरू कसरी त्यहाँको ठूलो इकोसिस्टमको समग्रतामा ‘सिङ्क्रोनाइज’ हुनेछन् भन्ने विशेष सूत्र हुनेछ।
त्यही पोडियमबाट राष्ट्रिय, अन्तर्राष्ट्रियता नेता र मेडियासामु ऊ दाबी गरिरहेछ। ‘यसले नेपाललाई दस लाखभन्दा बढी’ ओएसिसजस्तै पानीका पकेटहरूसहित वर्षाको पानी संकलन गर्ने माहुरीको चाकाजस्तो पोखरीको देश बनाएको छु। माछा पौडिरहेको, चराहरू नजिकै चलिरहेको, सुरक्षा प्रोटोकलहरू पालना गर्दै बच्चाहरू खेलिरहेको, पानी खेलहरूमा युवाहरू व्यस्त भइरहेको, बुढाबुढीहरू बेन्चमा गफिरहेको, प्रेम फस्टाइरहेको, शीतलता फैलिइरहेको र खुसी महकिरहेका पानी पार्कहरूले खुसीलाई जीवनसँग जोडिरहेको ऊ बुझाइरहेछ।
पोखरीले विभिन्न जनावरहरूलाई पिउनका लागि छुट्टाछुट्टै ठाउँ पनि दिइरहेको, अनि श्याम गोयन्का जस्ता ‘भेटिभर’ अग्रगामीहरूलाई निम्तो, मौका, र साथ दिई (लौ देखाऊ तिमीहरूको ‘भेटिभर पावर’ भनेर उत्साहित गरिरहेको पनि ऊ थपिरहेछ। त्यसैगरी समुदायहरू पोखरी व्यवस्थापनको दक्षतामा स्वस्थ प्रतिस्पर्धा भइरहेको, विश्वकै सबैभन्दा अग्लो मानिसले बनाएको पोखरी आकर्षणको केन्द्र भएको, अनि हिमाल र नदीहरूको देश नेपाललाई ‘पोखरीको चाकाको देश वा ‘ओएसिस’को स्वर्ग पनि भनिन थालेको ऊ विश्वलाई सूचित गरिरहेछ र यो हेर्न बुझ्न संसारभरका नागरिकहरूलाई नेपाल निम्तो गरिरहेछ। दस लाख पोखरीले परोपकार, सम्पदा, सिमसार व्यवस्थापनमा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार जितेको ऊ घमण्ड गर्दैछ।
यही थियो त्यो सुन्दर कल्पनाभित्रको पानीसपना। सपना हराएको देशमा यो एउटा सपना पनि रमाइलो जस्तो लग्यो। यस लेखकका आदरणीय गुरु डा. प्रमोद ढकाल भन्थे– ‘इनोभेसन’ जटिल हुनु हुँदैन, सरल हुनुपर्छ। एउटा पोखरी राम्रोसँग बनाइयो भने त्यो नै नवाचारको ठूलो प्रतीक बन्दछ। के यो पानीसपना यथार्थपरक कुरो हुन सक्छ त ?
तर नेपालभर पोखरी बनौ न भने हाम्लाई गाह्रो नहोला। हामीले कठिन भूभागमा भ्यु टावरहरू बनाइसकेकाले, पोखरी बनाउन धेरै सजिलो हुनेछ। सामुदायिक वन व्यवस्थापनमा हामीले आफ्नो क्षमता प्रमाणित गरिसकेकाले सिमसार व्यवस्थापन धेरै कठिन हुने छैन। धेरै मेहेनत र सावधानी भने अनुसन्धान र पोखरीहरूको प्रोटोटाइपमा जानुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान एजेन्सीहरूले निश्चित रूपमा त्यसमा मद्दत गर्नेछन्।
यस्ता पोखरीहरूले हामीलाई वर्षभरि पानी मात्र दिनेछैन, सहर—दुर्गममा हराएका आशाहरू पनि फर्काउने छन्। बाँझो बन्जर जमिनले केही जीवन पाउनेछ। मनसुन झन् धेरै उत्साह बोकेर आउनेछ। समुदायहरूसँग एजेन्डा र नजिकिने बहाना पनि हुनेछ। पोखरीले नवचौतारो बन्नेछ। हामी एक कदम अझ समृद्ध र एक कदम अझ प्रसिद्ध हुनेछौं।
हुन त क्यानडा, रसिया, चीन, अमेरिका, ब्राजिल आदि ठूलो भूभाग भएका देशहरूहरूसँग धेरै ताल (पोखरीहरू छन् तर सानो देश भइकन पनि ‘भर्टिकल एडभान्टेज’ हामीसँग जति अरूसँग छैन जसले गर्दा मानव निर्मित पोखरीहरूको महासञ्जाल विश्व कीर्तिमानमात्र होइन आठौं आश्चर्यसमेत हुने सम्भावना बढी छ। भिजन र कालीगढी सक्षम होस्, पानीसपना विश्व आकर्षण बन्ने नै छ।
पानीसपना पटक्कै महँगो छैन, यस्ले इच्छाशक्ति मात्र खोज्छ। हामीले राष्ट्रियस्तरमा यस्ता पहलहरू सुरु किन नगर्ने ? पानीसपना होस् वा आधुनिकीकरण गरिएको चट्टानमात्रको निर्माण सामग्रीद्वारा निर्मित नयाँ नेपाली पूर्वाधार मोडेलको ढुंगा सपना होस्, नागरिकहरूका सपनाहरूमध्येकै केही सपनाहरूले देशको अपरम्परागत र अकल्पनीय विकास गर्ने हो।