एमाले संसदीय दलको बैठक जारी, महासचिव पोखरेल र डा. खतिवडा पनि सहभागी
काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ। संघीय संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसो सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो।
बैठकमा कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समितिबारे पनि छलफल हुने बताइएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्दैछन्। आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी छन्।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि छलफल गरेर जेठ ९ गते पारित गर्ने तयारी छ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै मंगलबार बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको थियो। कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
समिति गठन नभएसम्म अवरोध जारी राख्ने कांग्रेसको अडान छ। पछिल्लो समय गृहमन्त्री लामिछानेले आफूले संसदमा जवाफ दिन पाउनुपर्ने त्यसपश्चात छलफल गर्न सकिने बताउँदै आएका छन्।