जसपालाई दल दर्ताको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद भट्टराईको इजलासले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई दल दर्ताको मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो। अदालतले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ।
'निर्वाचन आयोगको बैठक संख्या १२/२०८१ मिति २०८१/०१/२४ को बैठकको प्रस्ताव नं. ३० मा भएका विभिन्न निर्णयहरूमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियमारहेका भन्ने देखिन आई उक्त विषयमा प्रत्यर्थी निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मुनासिव देखिएकाले वैशाख २४ को बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकारबाहीहरू जहाँ जे-जस्तो अवस्थामा छन् सोही अवस्थामा यथास्थितिमा राखी जेठ ८ मा छलफलको लागि उपस्थित हुनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम प्रत्यर्थीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,' आदेशमा भनिएको छ।