स्यान्टुको छलाङ

छनोट चरण पार गरेर ओलम्पिकको टिकट काट्ने तेस्रो नेपाली खेलाडी बने

स्यान्टुको छलाङ
सुन्नुहोस्

काठमाडौं : टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोटको बुधबार भएको फाइनलमा अर्का नेपाली खेलाडी संयोग कपालीलाई ४–३ सेटले हराउँदै स्यान्टुले ओलम्पिकको टिकट काटेका हुन्।

उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो टेबुल टेनिस खेलाडी हुन्। समग्रमा भने छनोट चरण पार गर्ने तेस्रो नेपाली खेलाडी हुन्। यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। संगीनाले सन् २००४ को एथेन्स र दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए। 

लैनचौरस्थित टेबुल टेनिस प्रशिक्षण केन्द्रमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा स्यान्टुले संयोगलाई ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११, ११–९ पराजित गरेका हुन्। यसअघि स्यान्टुले सेमिफाइनलमा श्रीलंकाका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

फाइनलमा दुई नेपाली खेलाडीले स्थान पक्का गरेसँगै नेपालका टेबलटेनिस खेलाडीले छनोट पार गरेर ओलम्पिक खेल्ने पक्का भएको थियो। महिलातर्फ माल्दिभ्सकी फातिमाथ अली पेरिस ओलम्पिकका लागि छनोट भइन्। फातिमाथले फाइनलमा श्रीलंकाकी विमान्डे बन्दरालाई ४–१ सेटले पराजित गरिन्। पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोटमा पुरुष र महिलातर्फ एक/एक वटा कोटा थियो। 

स्यान्टुले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका थिए। यसअघि उनले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) चार पदक जितेका थिए। १३औं सागमा उनले एक रजत र तीन कांस्य पदक जितेका थिए। १३औं सागमा स्यान्टुले पुरुष एकलमा कांस्य, पुरुष टिम एभेन्टमा रजत, पुरुष डबल्स र मिक्स डबल्समा कांस्य पदक जितेका थिए। 

नेपालबाट यसअघि ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहालले पनि पेरिस ओलम्पिकको टिकट काटिसकेका छन्। प्रिन्सले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिक खेल्न लागेका हुन्। यसैगरी पेरिस पारालिम्पिकमा भने नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन छनोट भइसकेकी छन्। चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरेकी हुन्।

पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.