गृहमन्त्रीसहित सहकारी ठगीमा संलग्नलाई छानबिन गर्न समिति गठन गरौं : एकीकृत समाजवादी
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समग्र समस्या समाधानको लागि छानविन समिति गठन गर्न माग गरेको छ। ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको समाचार प्रकाशित भएकाले छानविन समिति गठन गरी दोषिमाथि कडा कारबाही गर्न माग गरेका हुन्।
‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन्।’ उनले भने,‘यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने मागगर्दछ।’
एससले अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको ठहर गरेको छ। ‘उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन्। यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन्। वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ। उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ। उपभोक्ताको क्रयशक्ति घट्दैछ।’ निर्णयमा भनिएको छ, ‘यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ। लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ।’
उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न एकीकृत समाजवादीले माग गरेको छ।