सरकारका प्रवक्ता भन्छिन्- गृहमन्त्रीलाई बोल्न दिने सहमति प्रतिपक्षी दलले भाँडे
काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी जिम्मेवार नदेखिएको आरोप लगाएकी छन्। सरकारका मन्त्रीहरू बस्ने स्थानमा प्रतिपक्षी दलका सांसदहरू छिर्नु गैरसंसदीय अभ्यास भएको उनको भनाइ छ।
'सरकार भिड्ने स्थितिमा छैन। प्रतिपक्षी दल जिम्मेवार नदेखिएको हो। प्रतिपक्षी दलका सांसदहरू सरकारको रो (मन्त्री बस्ने लाइन)मा छिर्नु गलत हो। यो गैरसंसदीय अभ्यास भयो। उहाँहरू सच्चिनुपर्छ,' उनले भनिन्।
उनले गृहमन्त्रीलाई बोल्न दिइने सहमति भए पनि प्रतिपक्षी दलले अन्त्यमा भाँडेको आरोप लगाइन्। 'आरोप लागेपछि स्पष्ट गर्न पाउनुपर्छ। गृहमन्त्रीलाई बोल्न दिइने सहमति पनि भएको थियो। तर उहाँहरू किन भाँड्नुभयो थाहा भएन,' उनले भनिन्।