'सभामुख पार्टीको आदेशपालक बने'

सदनमा ओलीले खेलेको भूमिका खेदजनक छ : गगन थापा

सदनमा ओलीले खेलेको भूमिका खेदजनक छ : गगन थापा
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा। इन्सेटमा संसदमा देखिएको दृश्य। संसद बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच भनाभन भएको थियो।

काठमडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा देखिएको दृश्य सुनियोजित भएको बताएका छन्। उनले संसदमा देखिएको दृश्य सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको डिजाइनमा भएको आरोपसमेत लगाए। बुधबार ओलीले संसदीय बैठक बोलाएर, लाइभ देखाएर संसदमा आजको दृश्य मञ्चन गरिएको उनको आरोप छ।

उनले सभामुख देवराज घिमिरे पनि ओलीको आदेश पालकको भूमिका निर्वाह गरेको आरोप लगाए। उनले संसद बैठकमा जे-जे कुरा भयो, त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताए। 'कांग्रेसको अवरोधबीच संसद अगाडि बढ्छ भनेर ओलीले बुधबार हुँकार गरेका थिए। सभामुखले आज त्यसलाई पूरा गरको दृश्य देख्न पाइयो। सभामुखले पार्टीको नेताको आदेश पालकको भूमिका निर्वाह गर्नुभयो। त्यसको मुख्य जिम्मेवारी सभामुखले लिनुपर्छ,' उनले भने। सभामुखले जबर्जस्ती सभालाई अगाडि बढाउने काम नै गलत गरेको उनको भनाइ छ। 

उनले संसदलाई मुठभेडतर्फ लैजान ओलीले 'सिन क्रियट' गरेको आरोप लगाए। 'सदनभित्र आज तिक्तता भएको सबैले देख्यौं। सत्तापक्षले नै संसदलाई मुठभेडतर्फ धकेल्न खोजे। गृहमन्त्रीलाई रोस्टममा जान हामीले रोकिरहँदा सत्तपक्षका प्रमुख दलका नेताले जबर्जस्ती सिन क्रियट गर्न खोज्नुभयो। मुठभेडतर्फ जाने अवस्था निम्त्याउनुभयो। यसको जवाफ हामी प्रधानमन्त्रीसँग चाहन्छौं,' उनले भने।

उनले ओलीमाथि दुर्व्यवहार भएको आरोपलाई खण्डनसमेत गरे। उनले ओलीको भूमिका नै खेदजनक रहेको बताए। 'सदनमा आफ्नो कुरा राखिरहेका बेला सत्तपक्षका प्रमुख दलका नेताले वातावरण बिगार्ने प्रयास गर्नुभयो। त्यो आफैंमा खेदजनक छ,' उनले भने, 'ओलीमाथि हामीले अभद्र व्यवहार गरेका छैनौं। कांग्रेसको त्यस्तो नीति नै छैन,' उनले भने।

उनले ओलीले कांग्रेस सांसदलाई हप्काएकाले त्यसको प्रतिकार गरेको स्पष्ट पारे। 'सभामुखले जबर्जस्ती सरकारको काम कारबाही अगाडि बढाउन खोजेपछि हामीले रोक्ने प्रयास गरेका हौं। तर ओलीजीले कांग्रेसका सांसदलाई एमालेको कार्यकर्ता भन्नठान्नुभयो। हप्काउने, थर्काउने प्रयास गर्नुभयो। हामी उहाँको कार्यकर्ता होइनौं। हप्काएपछि हाम्रा सांसदहरूले प्रतिकारमात्र गरेका हुन्,' उनले भने। उनले कांग्रेस सांसदलाई एमाले सांसद ठानेर अह्राउने काम नगर्न आग्रह गरे।

उनले रवि लामिछानेले सहकारीबाट ऋण लिएको नभएर ठगी गरेको बताए। 'सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि। हामीले नि ऋण भनेका छैनौं। ऋण त सहकारीका सदस्यले लिने हो। उनले त सहकारीबाट ठगेका हुन्। सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,' उनले भने। उनले सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिस्ट्रार र गोरखा मिडियाको अडिटमा पनि रवविरुद्ध प्रमाणहरू छरपस्ट रहेको बताए। उनले संसदमा सहकारी ठगलाई कारबाही गर्ने र सहकारी ठगलाई जोगाउने पक्षमा परिणत भएको बताए। 

महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई पुराना फाइल खोल्न आग्रहसमेत गरे। उनले मिडियामा के-के फाइल खोल्ने धम्की आएको भन्दै उनले गृहमन्त्री लामिछानेलाई इंगित गर्दै भने, 'कुन कुन फाइल हो खोले हुन्छ। हामीले पनि पुराना फाइल खोलेकै हो।' उनले धम्की दिनुभन्दा पनि पुराना फाइल खोलेर आरोपलाई कानुनी कारबाही गर्न आग्रह गरे। उनले गिरिबन्धु टी स्टेटलगायत फाइलहरू खोल्न आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.