छानबिन समितिमा कांग्रेसको अडान कायमै,आज पनि संसद चल्न नदिने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्नो अडानबाट पछि नहट्ने निर्णय लिएको सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गरेको छ।
सहकारी ठगी प्रकरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने अडान लिएको हो।
बिहीबार पनि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भएको थियो। मुठभेडको स्थिति आउने देखिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।
प्रतिनिधिसभा बैठक अहिले ११ बजेका लागि डाकिएको छ।